दोलखा/दोलखा सदरमुकाम चरिकोटमा शनिवार नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन– २०८२ सम्पन्न भएको छ । मध्यपूर्वी पृतना बर्दिबासका सहायक रथी सरद लामिछानेको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा गरुडदल गण चरिकोटले सम्मेलन आयोजना गरेको हो । कार्यक्रमका सहभागिहरुलाई गरुडदल गणका गणपति प्रमुख सेनानी लोक सागर कटुवालले स्वागत गरेका थिए ।
सम्मेलनको अवसरमा भूतपूर्व सैनिकको परिवार दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर– ५ डाडाँखर्ककी शताब्दि महिला १०२ बर्षिय पदम कुमारी खड्कालाई मध्यपूर्वी पृतना बर्दिबासका सहायक रथी सरद लामिछानेले सम्मान गरेका थिए ।
त्यसैगरी तीन जना जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको गरुडदल गणका गणपति प्रमुख सेनानी कटुवालले बताए ।
कार्यक्रममा अपाङ्गता भएका पाँच जना भूतपूर्व सैनिकलाई हिृव्लचियर, एक जनालाई बैशाखी र तीन जनालाई लठ्ठी वितरण गरिएको गरुडदल गणले जनाएको छ । सम्मेलनमा सहभागि हुने भूतपुर्व सैनिकहरुलाई दैनिक तथा भ्रमणभत्ता र फटिग क्याप, सल, मण्डी र झोला वितरण गरिएको गरुडदल गणले जनाएको छ ।

दोलखा जिल्लामा २५ सय ३५ जना भूतपूर्व सैनिक रहेको र शनिवारको सम्मेलनमा १३ सय ५७ जना भूतपूर्व सैनिकको सहभागिता रहेको गरुडदल गण चरिकोटले जनाएको छ । कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर, सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्