दोलखा/नेकपा एमाले दोलखाका संस्थापक नेता एवम् जिल्ला विकास समिति दोलखाका पूर्व उपसभापति शिवप्रसाद भण्डारी सोमवार पूर्नमिलन कार्यक्रम मार्फत पुनः एमालेमा सक्रिय भएका छन् । उनीसंग पार्टीबाट अलग भएका धेरै नेता– कार्यकर्ता एमालेमा फर्किएका छन् ।
नेकपा समाजवादी गठन भएपछि एमाले छाडेर उक्त पार्टीको पोलिटब्युरो सदस्य बनेका भण्डारी नेकपा माओवादी, नेकपा समाजवादी लगायतका दल मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि राजनीतिक रुपमा निस्क्रिय बनेका थिए । अब आफु नेकपा एमाले बाहेक अन्यत्र कतै नलाग्ने उद्घोष सहित भण्डारी सोमवारको पुर्नमिलन कार्यक्रम मार्फत राजनीतिमा सक्रिय बनेका हुन् ।
नेकपा एमालेमा गुट– उपगुटको रहेको चर्चा बीच सोमवारको कार्यक्रममा एमालेका संस्थापक नेताहरु पुर्व सांसद जीतबीर लामा, पूर्व मन्त्री आनन्द प्रसाद पोखरेल, जिल्ला विकास समिति दोलखाका पूर्व सभापति लालकुमार केसी र पूर्व उपसभापति शिवप्रसाद भण्डारीले दोलखाका एमाले उम्मेदवार पार्वत गुरुङसंग हातेमालो गर्दै पार्टीलाई विजयी गराउने उद्घोष गर्दा कार्यकर्ताहरु उत्साहित बनेका थिए ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका पूर्व मेयर चोक बहादुर दहाल, एमाले नेता बसन्तराज कार्की, एमाले केन्द्रीय कमिटी सदस्य रचना खड्का, श्याम वस्नेत, उर्मिला सुनुवार, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, बागमति प्रदेशका बन तथा वातावरण मन्त्री भरतबहादुर केसी, बागमति प्रदेशका पूर्व मन्त्री सरस्वती वस्नेत लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा एमाले उम्मेदवार पार्वत गुरुङले फागुन २१ गतेसम्म निर्वाचनको लागि सबै नेताहरु आ– आफ्नो वडामै केन्द्रीत हुने र निर्वाचन लगतै पार्टीलाई नयाँ ढङ्गले अगाडी बढाउने बताए ।
पार्टीको दोलखा इन्चार्ज समेत रहेका गुरुङले पुर्नमिलन कार्यक्रममा अब दोलखा एमालेमा कुनै गुट– उपगुट नरहने उद्घोष समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्