मुख्य समाचारराजनीति

समृद्धि एमालेको विजयबाट मात्र– पूर्व सञ्चार मन्त्री गुरुङ

दोलखा/नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवम् प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोलखाबाट उम्मेदवार रहेका पार्वत गुरुङले दोलखासंगै समग्र मुलुकको समृद्धि एमालेको विजयबाट मात्र सम्भव हुने बताएका छन् ।

नेकपा एमाले भीमेश्वर नगरकमिटीले शुक्रबार सदरमुकाम चरिकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा पूर्व सञ्चारमन्त्री समेत रहेका गुरुङले दोलखाको विकासको सुरुवात आफु सहित सहभागि रहेको एमाले नेता लाल कुमार केसी नेतृत्वको तत्कालिन जिल्ला विकास समितिले बनाएको रिङरोड सहितको योजनाबाट भएको बताए ।

एमाले नेतृत्वको तत्कालिन जिल्ला विकास समितिले दोलखाको समृद्धिको लागि रिङरोडसंग, कृषि, शिक्षा, स्वास्थ्य, जलस्रोत र पर्यटन विकासको माष्टर प्लान निर्माण गरेको र त्यसैको जगमा जिल्लाको विकास अघि बढेको गुरुङले बताए ।

उनले आफु एमालेको सामान्य कार्यकर्ताबाट जिल्ला विकास समितिको सदस्य, पार्टीको जिल्ला अध्यक्ष, सांसद र मन्त्री हुदा समेत जिल्लाको विकास र समृद्धिकै लागि काम गरेको र कतिपय कामहरु लाई निरन्तरता दिन बाँकी रहेको बताए । यो पटक निर्वाचित भएर जिल्लाको समृद्धिको लागि थप काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।

नगरकमिटी अध्यक्ष भोला खतिवडाको सभापतित्वमा सम्पन्न भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द प्रसाद पोखरेल, रचना खड्का, उर्मिला सुनुवार, केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिन, नेता लाल कुमार केसी, बागमति प्रदेश कमिटी सदस्य भरत केसी, हरिबंश चौलागाई, टेक घतानी, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, बागमति प्रदेश कमिटीका सल्लाहकार सदस्य कृष्ण वस्नेत, जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, नगरकमिटी सचिव राजन श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार