बागमतीराजनीति

काठमाडौँ– १ मा राप्रपाको उम्मेदवार विवादः मिश्र कि उप्रेती !

काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय समितिको शुक्रवारको बैठकले प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौँ क्षेत्र नम्बर– १ मा पार्टीको बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेपछि विवाद सुरु भएको छ ।

उक्त क्षेत्रमा बरिष्ठ समाजसेवी एवम् पार्टीको सह– कोषाध्यक्ष शोभित उप्रेतीलाई उम्मेदवार बनाउनु पर्ने पार्टीको स्थानीय नेता– कार्यकर्ताको माग रहेको छ । काठमाडौँ क्षेत्र नम्बर– १ लाई मुख्य आधार क्षेत्र बनाएर लामोसमय देखि सामाजिक एवम् राजनीतिक अभियान सञ्चालन गर्दै आएका पार्टीको सह– कोषाध्यक्ष शोभित उप्रेतीलाई उम्मेदवार नबनाईए बिद्रोह गर्ने त्यस क्षेत्रका पार्टीका नेता– कार्यकर्ताले चेतावनी दिएका छन् ।

क्षेत्र नम्बर– १ मा उम्मेदवारको विषयमा विवाद भएपछि पार्टीले काठमाडौँ जिल्ला भरीनै उम्मेदवार चयन गर्न सकेको छैन ।

राप्रपाको काठमाडौँ क्षेत्र नम्बर– १ को क्षेत्रिय निर्वाचन समितिले पशुपति शम्शेर राणालाई पहिलो र शोभित उप्रेतीलाई दोस्रो नम्बरमा उम्मेदवारको लागि सिफारीस गरेको थियो । राणाले आफु त्यस क्षेत्रबाट उम्मेदवार नबन्ने घोषणा गरिसकेकोले स्वत शोभित उप्रेती उम्मेदवार हुनुपर्ने नेता– कार्यकर्ताको माग रहेको छ ।

पार्टीका सह– कोषाध्यक्ष शोभित उप्रेती बरिष्ठ नेता पशुपति शम्शेर राणाले उम्मेदवार नबन्ने घोषणा गरिसक्नु भएकोले दोस्रो नम्बरमा सिफारीस भएको कारण क्षेत्र नम्बर– १ मा आफु निर्विवाद उम्मेदवार हुनुपर्ने बताउछन् ।

काठमाडौँ क्षेत्र नम्बर– १ बाट यस अघि दुई पटक पराजित भै सकेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई क्षेत्रिय निर्वाचन समितिले सिफारीस नगरेपछि आफ्नै पहलमा बैठक राखेर जिल्ला समितिमा आफ्नो नाम पठाएका थिए । मिश्रले पनि यो क्षेत्रमा आफु उम्मेदवार हुनुपर्ने दावि गर्छन ।

विवाद बढ्दै गएपछि राप्रपाले आईतवार बैठक राखेर समाधान खोज्ने जनाएको छ । राप्रपाका केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठ क्षेत्र नम्बर– १ मा को उम्मेदवार बन्ने भन्ने विवाद भएकोले आईतवार मिश्र र उप्रेती सहितको बैठकले क्षेत्र नम्बर– १ लगायत काठमाडौँ जिल्ला भरीको उम्मेदवारी टुङ्गाउने बताउछन् ।

सम्बन्धित समाचार