दोलखा/नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष केशबराज पाण्डेले बताउनु भएको छ । अधिवेशनको उद्घाटन असोज ८ गते साेमवार अपरान्ह १२ः३० बजे केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने अध्यक्ष पाण्डेले बताउनु भयो ।
अधिवेशन उद्घाटन अघि विहान ११ बजे रत्नपार्कबाट सुरु हुने र भृकुटी मण्डपमा अधिवेशनको उद्घाटन हुने जनाईएको छ । अधिवेशनको लागि उपत्यका सहित बागमती प्रदेश संगठन कमिटीमा पर्ने १३ जिल्लाबाट एक हजार २८ जना प्रतिनिधि चुनिएर आउनु भएको र त्यसको पाँच प्रतिशत मनोनित हुने अध्यक्ष पाण्डेले बताउनु भयो ।
अधिवेशन तयारीको लागि अध्यक्ष केशबराज पाण्डेको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, रामहरी सुवेदीको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति, विजय सुवेदीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थपन समिति, रत्न गुरुङको संयोजकत्वमा आन्तरिक लेखा समिति, महेश कुमार बर्तौलाको संयोजकत्वमा प्रचार एवं प्रकाशन समिति, कृष्णहरि खड्काको संयोजकत्वमा आर्थिक परिचालन समिति, ओम थपलियाको संयोजकत्वमा निर्वाचन समिति र पुरुषोत्तम आचार्यको संयोजकत्वमा हल व्यवस्थापन तथा स्वयम सेवक परिचालन समिति गठन गरिएको छ ।
अधिवेशन सफल बनाउन सबै समितिहरु सक्रियतापूर्वक लागेको प्रदेश संगठन कमिटीका अध्यक्ष पाण्डेले बताउनु भयो ।
नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई जना सहित दुई सय ४० जनाको नयाँ संगठन कमिटी निर्वाचित गर्ने जनाईएको छ । अधिवेशन सम्पन्न गर्न ७७ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
दोलखाबाट दुई पदमा उम्मेदवारी घोषणा
नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको लागि दोलखाबाट उपाध्यक्ष र उपसचिवमा उम्मेदवारी घोषणा भएको छ । उपाध्यक्षको लागि नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको तर्फबाट दोलखा इन्चार्ज रहनु भएको इश्वरचन्द्र पोखरेलले उम्मेदवारी घोषणा गर्नु भएको छ भने उपसचिवको लागि संगठन कमिटीको तर्फबाट दोलखाको सहइन्चार्ज रहनु भएका डबल पाण्डेले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु हुने पोखरेल एमाले दोलखाको दुई कार्यकाल अध्यक्ष बनिसक्नु भएको छ । तत्कालिन जफे गाविसको अध्यक्ष, तामाकोसी गाँउपालिकाका पूर्व अध्यक्ष र तत्कालिन जिल्ला विकास समितिका सदस्य रहनु भएका पोखरेल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभा सदस्यको दावेदार समेत हुनुहुन्थ्यो ।
त्यसैगरी उपसचिवमा उम्मेदवारी घोषणा गर्नु हुने पाण्डे नेकपा एमाले दोलखाको उपसचिव र जिल्ला समन्वय समिति दोलखाको पूर्व प्रमुख हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्