कला / साहित्यसमाचार

क्यानभासमा मेलुङ–२०८२ प्रदर्शनी

जीवन लामा

दाेलखा / कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि मेलुङ गाउँपालिकामा “क्यानभासमा मेलुङ–२०८२” नामक चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । मेलुङ गाउँपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यहरूलाई चित्रमार्फत उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको यो प्रदर्शनीले गाउँको पहिचानलाई रङ र रेखामार्फत प्रस्तुत गरेको छ ।

मेलुङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना तथा चरिकोट मिडिया फाउण्डेशनको व्यवस्थापनमा सञ्चालन गरिएको प्रदर्शनीबारे मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । १५ जना कलाकारले कोरेका डेढ दर्जन चित्रहरूमा गुम्बा, मन्दिर, कृषि, जीवनशैली, संस्कृति र पर्यटकीय स्थलहरूलाई कलात्मक ढंगमा उतारिएको छ । यस्तै, मेलुङको जीवन झल्काउने १५ वटा कलात्मक तस्बिरले पनि प्रदर्शनीलाई थप आकर्षक बनाएका छन् ।

कलाकार विक्रम तामाङका अनुसार बैशाख १७ गते सदरमुकाम चरिकोटमा पनि एकदिने प्रदर्शनी गरिनेछ । जिल्लामा चित्रकलाको प्रचारप्रसार र महत्व दर्शाउन यो प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले राजधानी केन्द्रित कलालाई अब गाउँ–गाउँसम्म पु¥याउने अभियानमा आफूहरू लागेको जानकारी दिनुभयो । उहाँले यसअघि पनि विभिन्न स्थानीय तहहरूसँग समन्वय गरी चित्रकला गोष्ठी र प्रदर्शनी आयोजना गरिएको स्मरण गर्दै आगामी दिनमा अझ धेरै ठाउँमा कला पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले स्थानीय सरकार भौतिक पूर्वाधार निर्माणमा मात्रै सीमित नरही, कला–संस्कृतिको जगेर्नामा समेत सक्रिय रहेको बताउनुभयो । उहाँले नवनिर्मित भवनमा मेलुङको मौलिकता झल्किने कला संग्रहालय स्थापना गर्ने योजना पनि सुनाउनुभयो ।

क्यानभास प्रदर्शनी मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षतामा तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष गायत्री आचार्य, राष्ट्रिय ललितकला संघका अध्यक्ष एनबी गुरुङ, गाउँपालिकाका प्रवक्ता नवराज खड्का र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चापागाईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कला, संस्कृति र पहिचानको संगम बनाइएको क्यानभास–२०८२ ले मेलुङलाई रंग–रेखामार्फत नयाँ परिचय दिएको छ ।

सम्बन्धित समाचार