धर्म/संस्कृतिबागमतीयो पनिसमाचार

शैलुङमा भीमसेन तरवार शिला पुजाको तयारी

दोलखा/हिन्दुहरुको पर्व भीमा एकादशीको दिन दोलखाको प्रसिद्ध शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिला पुजाको तयारी गरिएको छ । दोलखा शैलुङ गाँउपालिका वडा नम्बर– ८ ले भीमसेन तरवार शिला पुजाको तयारी गरेको वडा अध्यक्ष धनबहादुर तमाङले बताए ।
दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ मा पर्ने सयवटा थुम्का भएको शैलुङ डाँडामा भीमसेनको तरवार भएको शिला रहेको छ । किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरवार (खड्ग) विसाएर विश्राम गरेको र हिड्ने बेला तरवार त्यहि छोडिएको हो ।


संस्कृतविद् डा. जगमान गुरुङ दोलखाको प्रसिद्ध भीमेश्वरको दर्शन गर्न जाने दर्शनार्थीहरुले पहिले भीमसेनले तरवार (खड्ग) छोडेको शैलुङ डाँडामा रहेको उक्त भीमसेन तरवार शिलाको दर्शन गर्दा फल प्राप्त हुने बताउछन् ।
एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेती शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको धार्मिक एवम् पुरातात्वीक महत्वलाई आत्मसाथ गर्दै वडा नम्बर– ८ को पहलमा माघ २६ गते भीमा एकादशीको दिन भीमसेन तरवार शिला पुजाको तयारी भएको बताउछन् । भीमसेन तरवार शिला पुजाको अवसरमा दोलखाका अलवा काठमाडौँ तथा अन्य ठाँउहरु बाट समेत बिभिन्न शक्ति पिठका पुजारी, गुरु, गुभाज्यु, धार्मिक पर्यटक, सञ्चारकर्मी, संस्कृतविद् लगायतको सहभागिता रहने समाजसेवी शोभित उप्रेतीले बताए ।
वडाको आयोजनामा हुने भीमसेन तरवार शिला पुजालाई व्यवस्थित बनाउन वडा नम्बर– ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, स्थानीय युवा समाजसेवीहरु प्रविण प्रसाद थपलिया, नवराज खड्का लगायतले समन्वय गरिरहेका छन् ।
तीन हजार एक सय ४८ मिटरको उँचाईमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषीहरुले तपस्या गरेको किंवदन्ती समेत रहेको छ । तमाङ भाषामा शै को अर्थ सय र लुङको अर्थ थुम्का हुने र उक्त ठाँउमा सयवटा थुम्का रहेकोले शैलुङ नामाकरण भएको स्थानीय जेष्ठनागरीकहरु बताउछन् ।


शैलुङमा हरेक बाह्र बर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ । महादेव (शिवजी) को प्रतिमूर्तिमा सीर निहुराएर मागेको बर खेर जादैन भन्छन् स्थानीय । महादेव मन्दिरसंगै रहेको धर्म ढोकामा धेरैले आफ्नो कर्मको मूल्याङ्कण गरिरहेका हुन्छन् । भनिन्छ, धर्मात्माहरु ले सजिलै धर्मढोका पार गर्नसक्छन् तर पापीले त्यो शौभाग्य पाउन सक्दैनन् ।
महयान सम्प्रदायका लामा बौद्ध धर्मको उपसम्प्रदाय निङ्मायाको किम्बदन्ति सुनाउदै स्थानीय जेष्ठजनहरु भन्छन् – गुरु पद्यसम्भवले नेपालको उच्च तथा हिमाली श्रृङ्खलाका साथै तिब्बतका बोत (झाँक्री) धर्म गुरुहरुलाई परास्त गरी बौद्ध धर्मको स्थापना गरेका थिए । यो क्रममा धर्मचक्र राजाकी छोरीसंग विवाह गरी बस्दा स्वदेशका जजमानहरुको संस्कार, साधनहरु समेत तान्त्रिक शक्तिद्वारा आकाश मार्गबाट पठाउदा मानेश्वर ल्हो (माने) शैलुङ बसेका थिए । त्यसैले यो पवित्र र धार्मिक मित्र भूमि पनि मानिन्छ– शैलङु गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुुलालले भने ।
गौरीशङ्कर हिमश्रङ्खला लगायत थुप्रै हिमश्रृङ्खलाहरु देखिने शैलुङमा गाँउपालिकाको पहलमा निर्माण भएको मिनि ग्रेटवाल समेत आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय विशेषगरी शुक्रवार र शनिवार हजारौ पर्यटक शैलुङ पुग्ने गरेको स्थानीय दिपेश श्रेष्ठ बताउछन् ।

सम्बन्धित समाचार