दोलखा/चीनसंग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक नाकाबाट अवैध सुन तस्करी गरेको आरोपमा पक्राउ परेका १५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले आवश्यक अनुसन्धान पछि मंगलवार जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी दोलखाको लामाबगर नाकाबाट झण्डै एक बर्षको अवधिमा बिभिन्न आपराधिक समूह बनाएर ३३ किलो सुनको तस्करी भएको तथ्य खुलेको जनाएको छ । तस्करहरुले विशेषगरी बालबालिकाको प्रयोग मार्फत आलु तथा कोदोको पिठोको बोरामा हालेर सार्वजनिक यातायात मार्फतनै तस्करीको सुन काठमाडौँसम्म पु¥याउने गरेको पाईएको पनि प्रहरीले जनाएको छ ।
तस्करहरु ले लामाबगरको फलाक नाकाबाट डोरीले सुनको बोरामा बाधेर चीनको तिब्बतबाट नेपाल तर्फ पठाउने र नेपाल तर्फबाट त्यसैरी बोरामा डलर, यार्सागुम्बा, कस्तुरीको विना लगायत पठाउने गरेको तथ्य समेत भेटिएको प्रहरीले जनाएको छ । तस्करी समूहका कतिपय एक अर्कोमा परिचित नभएको समेत पाईएको प्रहरीको भनाई छ ।
गत असोज १० गते समेत बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलिले दोलखाको लामाबगर, जामुने लगायतका स्थानहरुबाट अवैध रुपमा नेपाल भित्रिएको ११ केजी सुन बरामद गरेको थियो ।
त्यसरी अवैध सुन बरामद भएपछि ‘अवैध सुन पैठारी र संगठित अपराध निवारण ऐन २०७०’ अन्र्तगतको कसूर शिर्षकमा पुद्दा दर्ता गरी नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी अधिकृतहरुको समेत संलग्नतामा जिल्ला प्रहरी कार्यालय दोलखाले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा अहिलेसम्म अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेको र १२ जना फरार रहेको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो । पक्राउ परेकाहरु बाट दश करोड ६८ लाख ६८ हजार सात सय ६१ रुपैया बराबरको ११ केजी (सुनको बिस्केट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँच सय रुपैया समेत बरामद भएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
उनीहरुले २०७९ साल मंसिर देखी २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैया १५ पैसा बराबरको ३३ केजी सुन अवैध रुपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको छ ।
सुन तस्करी आरोपमा पक्राउ परेका चिनिया तथा नेपालीहरुले अन्तरदेशीय अपराधिक संगठन सञ्जाल खडा गरी क्रिप्टो करेन्सी (युएसडिटी) तथा बिभिन्न डिजिटल वालेटको प्रयोग गरी सुनको भुक्तानी दिने र विदेशी मुद्राको अवैध कारोवार गर्ने गरेको समेत खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामकृष्ण पाठकले बताउनु भयो । यो अवधिमा उनीहरुले बिभिन्न १२ वटा डिजिटल वालेट प्रयोग गरी दुई अर्व एकानब्बे करोड अठ्चालिस लाख बत्ति हजार पाँच सय त्रियानब्बे रुपैया सात सय २९ पैसा बराबरको युनिट युएसडिटीको कारोवार गरेको देखिएको पनि सिआईवीका प्रहरी निरीक्षक पाठकले बताउनु भयो ।
प्रहरीले अहिलेसम्म तस्करी समूहका चिनिया नागरिक आकर लामा र ग्याङ रु तथा नेपालीहरु नुर्बु छिरीङ शेर्पा (काठमाडौँ), पेम्बा तमाङ (दोलखा), चसमान तमाङ (दोलखा), केशर तमाङ (दोलखा), माधवकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी), लालबहादुर तमाङ (सिन्धुपाल्चोक), तिलक बिक (बाग्लुङ), दिपेन्द्रराज शाक्य (ललितपुर), बिगु– १६ (दोलखा), चेतनाथ न्यौपाने (रसुवा), महिमा माझी (रामेछाप) तथा सुनमाला तमाङ (दोलखा) लाई पक्राउ गरेको छ ।
फरार रहेका थप १२ जना पक्राउ परेपछि पुरक अभियोग सहित जिल्ला न्यायधिवक्तको कार्यालय पेश गरीने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्