दोलखा/ दोलखाको उत्तरी सिंगटीको खोलिखिम बजार माथि माईथान सामुदायीक बन क्षेत्रमा रहेको जोखिम तपतपे ढुङ्गा व्यवस्थापनको लागि नेपाली सेनाले काम सुरु गरेको छ ।
बर्षाको कारण क्रमशः बग्दै गएको उक्त ढुङ्गा खस्योभने खोलिखिम बजारको ७८ भन्दा बढी घर धुरीमा क्षतिपुग्न सक्ने नेपाली सेनाले तयार गरेको प्रतिवेदनमा उल्लेख गरीएको थियो ।
नेपाली सेनाको तारादल गणको सेनानी गजेन्द्र दहितको समन्वयमा काली सिद्धि गणका इन्जिनियर सेनानी प्रभात सिंह, सह सेनानी सुजिन जंग शाही, जमदार राम कुमार राई र सिपाही खुम बहादुर डांगी तथा अर्जुन घिमिरेको प्राविधिक टिमले गरेको रेकीमा उक्त ढुङ्गा भएको ठाँउमा पहिरो गयो भने तीन सय ५० मीटर तल सिंगटी बजारमा रहेको करिब २० घरमा क्षतिहुने तथा ढुङ्गाले नदि थुन्यो भने बजारको ७८ वटा घरमा क्षतिपुग्न सक्ने रिर्पोट दिएको विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओलीले बताउनु भएको थियो । ढुङ्गा खस्ने त्रास बढेपछि विगु गाँउपालिकाको पहलमा खोलिखिमका ३२ घर धुरीका वासिन्दालाई अन्यत्र सारीएको थियो ।
विगतमा पिउन मिल्ने गरीनै पानी रसाउने भएकोले स्थानीयले तपतपे ढुङ्गा भनि नामाकरण गरेको उक्त ढुङ्गामा गतबर्षबाटै हलचल सुरु भएकोमा भदौ ९ गतेराति बाट भने आसपासको माटो बगेर १५ मीटर सरेको थियो ।
तपतपे ढुङ्गाको जोखिमकै कारण त्यसको व्यवस्थापनको लागि काली सिद्धि गणका इन्जिनियर सेनानी प्रभात सिंहको कमाण्डमा तारा दल गणको अप्रेशन अधिकृत समेत सहभागि रहने गरी टोली बनाईएको थियो । टोलीले प्रधानसेनापतिको अनुमति पछि सोमवारबाट उक्त ढुङ्गालाई ब्लास्टिङ गरी आवश्यक व्यवस्थापन गर्ने काम सुरु गरेको तारादल गण चरिकोटले जनाएको छ ।
विगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओलीले ढुङ्गा व्यवस्थापनको काम तत्काल सुरु गर्न हेलो सरकार मार्फत प्रधानमन्त्री पुष्पकमल दहाललाई आग्रह समेत गर्नु भएको थियो । प्रधानमन्त्री दहालले सोही कार्यक्रमकै क्रममा रक्षा सचिवलाई टेलिफोन गरी दोलखाको सिंगटीमा ढुङ्गाको कारण भएको समस्या समाधानमा तत्काल पहल गर्न निर्देशन दिनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले ढुङ्गा व्यवस्थापनको लागि नेपाली सेनाको टोलिले ब्लास्टिङको काम गरीरहेको र त्यो अत्यन्त सुरक्षित ढङ्गले भै रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी धमलाले ढुङ्गा व्यवस्थापनको काम चाँडै सकिने भएकोले सिंगटीको वस्तिमा अब उक्त ढुङ्गाको जोखिम नरहने समेत बताउनु भयो ।
तस्विरः ढुङ्गा व्यवस्थापनको काम गर्दै नेपाली सेना ।
प्रतिक्रिया दिनुहोस्