दोलखा/आलु उत्पादनको महत्वपूर्ण केन्द्र दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ८ शैलुङले दोस्रो आलु प्रवद्धन कार्यक्रम– २०८० सम्पन्न गरेको छ । कार्यक्रममा सबैभन्दा ठूलो र स्वस्थ आलु उत्पादन गर्ने कृषकलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सहभागि मध्य सबैभन्दा ठूलो ३ दशमलव १८८ केजीको आलु उत्पादन गर्ने शैलुङ मनगाँउका कृषक भम्बु बहादुर कार्की प्रथम भएका छन् । त्यसैगरी ३ दशमलव ०७८ केजीको आलु उत्पादन गर्ने झोरका कृषक केशव श्रेष्ठ द्धितिय, २ दशमलव ७४१ केजीको आलु उत्पादन गर्ने मनगाँउका कृषक विशाल श्रेष्ठ तृतीय र २ दशमलव ७११ केजीको आलु उत्पादन गर्ने झोरका प्रमिला परियार सान्त्वना भएको वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर तमाङले बताउनु भयो ।
कार्यक्रममा सहभागि मध्य १ दशमलव ८८४ केजीको आलु उत्पादन गर्ने मिन बहादुर विश्वकर्मालाई सहभागिको रुपमा पुरस्कृत गरिएको वडा नम्बर ८ का कर्मचारी दिपेश श्रेष्ठले बताउनु भयो ।
दोलखामात्र नभै देशभरीनै उत्कृष्ट आलु मानिएको शैलुङको मनगाँउ, झोर, ढाडे, पाडेखानी लगायतका क्षेत्रका कृषकलाई प्रोत्साहित गर्न र उत्पादीत आलु प्रवद्धनको लागि आलु प्रवद्धन कार्यक्रम २०८० को आयोजना गरी कृषकहरुलाई पुरस्कृत गरिएको वडा अध्यक्ष धनबहादुर तमाङ बताउनु हुन्छ ।
पहिलो पटक २०७९ मा आयोजना गरिएको आलु प्रवद्धन कार्यक्रमले कृषकहरुलाई उत्साहित बनाएको र आलु प्रवद्धनमा समेत सहयोग पुगेकोले यसलाई निरन्तरता दिईएको वडा अध्यक्ष तमाङको भनाई छ । कार्यक्रममा वडा नम्बर ८ शैलुङको मनगाँउ, झोर, ढाडे र पाडेखानीका ३० जना कृषकहरुको सहभागिता रहेको वडाका कर्मचारी दिपेश श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्