दोलखा/२४ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सदरमुकाम चरिकोटबाट जिल्ला भित्र तथा जिल्ला बाहिर बिभिन्न ठाँउमा चल्ने सार्वजनिक सवारी साधनहरुमा सरसफाई सम्बन्धि नारा लेखिएको स्टिकर टाँसिएको छ ।
जिल्ला युवा समिति दोलखाको सौजन्यमा ती स्टिकरहरु टाँसिएका हुन् । बजार, सडक तथा वस्तिहरु सफा राख्न सार्वजनिक सवारी साधनबाट फालिने फोहरको व्यवस्थापन समेत चुनौतीपूर्ण रहेकोले त्यस्ता सवारी साधनहरुमा चेतना मूलक स्टिकरण टाँसिएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।
चरिकोट बजारबाट सुरु गरिएको चेतनामूलक सरसफाई अभियान जिल्लाको अन्य बजार, वस्ति तथा पर्यटकीय स्थलहरुमा समेत विस्तार गरिने अध्यक्ष श्रेष्ठको भनाई छ । अभियानमा सहभागि अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार ढुङ्गेलले केही हप्ताबाट जारी सरसफाई अभियानले स्वच्छ वातावरण तथा सफा सडक, वस्ति र बजार निर्माणमा सहयोग पुग्ने बताउनु भयो ।
अभियानमा नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, युवा, विद्यार्थी, व्यवसायी, जनप्रतिनिधि लगायतका सहभागिता रहेको थियो । चेतनामूलक सरसफाई अभियानमा भीमेश्वर नगरपालिकाको पूर्ण साथ र सहयोग रहेको र यसलाई भीमेश्वर नगरका सबै वडा र जिल्ला भरीनै विस्तार गर्नु आवश्यक रहेको वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्