बागमतीमुख्य समाचारसमाचार

दोलखाको पहिरोः घाईतेलाई एसएस फाउण्डेशन र दोलखाली पत्रकार समाजको सहयोग

दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मार्बुको टोपाटारमा गत विहिवार राति गएको पहिरामा परी घाईते तीन जनाको उपचारको लागि एसएस फाउण्डेशनले एक लाख रुपैया सहयोग गरेको छ ।
पहिरोमा परी यज्ञ थामी, उनको श्रीमती धनकुमारी थामी तथा बुहारी सिता थामी घाईते भएका थिए । उनीहरुको काठमाडौँमा उपचार भै रहेको छ । घाईते यज्ञको छोरा टोप बहादुर थामीलाई राष्ट्रय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले एक लाख रुपैया उपचार खर्च हस्तान्तरण गर्नु भएको एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेतीले बताउनु भयो । सो अवसरमा संरक्षक उपे्रती सहित फाउण्डेशनका अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी एवं पुराना राजनीतिज्ञ सुन्दरप्रकाश खड्का लगायतका उपस्थिति रहेको थियो ।
पहिरोमा परी घाईते भएका परिवारलाई दोलखाली पत्रकार समाज काठमाडौँले समेत ४९ हजार एक सय रुपैया आर्थिक सहयोग गरेको पत्रकार मकर श्रेष्ठले बताउनु भयो । राजधानिमा क्रियाशिल दोलखाका पत्रकारहरुले आर्थिक रकम सङ्कलन गरी सहयोग गर्नु भएको थियो ।
अविरल बर्षाको कारण गत विहिवार बेलुका आएको पहिरोमा परी टोपाटारका कृष्ण बहादुर मगर– ६०, उनको श्रीमती देवीमाया मगर–५०, हरिलाल श्रेष्ठ– ४९ र सिता थामीको छोरा १५ महिनाको बालक प्रिन्स थामी बेपत्ता भएका थिए । शुक्रवार देवीमाया मगर र प्रिन्स थामीको शव भेटिएको भएपनि कृष्ण बहादुर मगर र हरिलाल श्रेष्ठ अझै बेपत्ता रहेको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
पहिरोमा परी वेपत्ताहरुको खोजि जारी रहेपनि अहिलेसम्म नभेटिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पहिरोले गौरीशङ्कर ७ मार्वु टोपाटारको आठ र वडा नम्बर ८ खारेको ३०/३५ घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । अहिले पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले उद्दार तथा खोज कार्य जारी राखेको जनाएको छ । घाईते तथा पीडित परिवारलाई नेपाल रेडक्रश, बिभिन्न राजनीतिक दल, सङ्घ सस्थाहरुले समेत सहयाेग गरेकाे जनाईएकाे छ ।

सम्बन्धित समाचार