दोलखा/नेपाल पत्रकार महासंघ दोलखा शाखाको समन्वयमा रविन्द्र गौतम स्मृति प्रतिष्ठानले मंगलवार स्व. पत्रकार रविन्द्र गौतमको स्मृति सभाको आयोजना गरेको छ । सो अवसरमा प्रतिष्ठानले पत्रकार रमेश खतिवडालाई स्व. रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार– २०८० प्रदान गरेको छ भने कालिञ्चोक माविको कक्षा ११ मा अध्यनरत विद्यार्थी सर्मिला खातीलाई १० हजार रुपैया छात्रवृत्ति प्रदान गरेको छ ।
कोरोना संक्रमणको कारण २०७८ जेठ १६ गते निधन हुनुभएका स्व. पत्रकार रविन्द्र गौतमको नाममा उहाँको धर्मपत्नी भवानी खड्काको पहलमा स्थापना भएको प्रतिष्ठानले हरेक बर्ष एकजना सक्रिय पत्रकार र एक जना जेहेन्दार विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेअनुसार स्व. रविन्द्रको दोस्रो स्मृति सभाको अवसरमा पत्रकारिता पुरस्कार तथा छात्रवृत्ति वितरण गरेको हो ।
स्व. रविन्द्र गौतम स्मृति प्रतिष्ठानको अध्यक्ष कृष्णबहादुर गौतमको सभापतित्वमा सम्पन्न स्मृति सभामा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, दोलखा शाखाका सभापति दीपशङ्कर चौलागाई, प्रतिष्ठानको संरक्षक भवानी खड्का र सचिव मुरारी दुलालले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्