दाेलखा/ नेकपा एमाले वडा कमिटी भीमेश्वर ४ जिलूले वडाभरीका ५६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ८० वर्ष उमेर पार गरेका नागरिकलाई कदर गर्दै सम्मान गरिएको हो । ज्येष्ठ नागरिकले विगतमा आफ्नो उर्जाशील समय खर्चेर समाज र देशका लागि गरेको योगदान सम्झेर उहाँहरुलाई सम्मान गरिएको कमिटीका अध्यक्ष गोविन्दराज सापकोटाले बताउनुभयो । आगामी दिनमा बाबुआमाको राम्रो संरक्षण गर्ने छोराछोरीलाई पनि सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
जिलूको देउराली पाण्डव पार्कमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य एवं दोलखा इन्चार्ज इश्वरचन्द्र पोखरेलले नेपाली समाजमा बाबुआमालाई गरिने सम्मान कम हुँदै गएकाले संस्कार र संस्कृति जोगाउनु पर्ने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि दोलखा प्रदेश सभा २ का सांसद भरत केसीले एमालेको सरकारले विगत र वर्तमानमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको र भविष्यमा पनि नयाँ योजनाहरु ल्याउने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य डबल पाण्डेले बृद्द अवस्था सबै मानवले खेप्नुपर्ने उमेर भएकाले यसबेला संरक्षण, माया र सद्भाव दिन नयाँ पुस्तालाई सिकाउँदै लैजानुपर्ने बताउनुभयो । सम्मान कार्यक्रममा वडाभरका करिब ५ सय वडाबासीको उपस्थिति रहेको थियो ।
सम्मानकै अवसर पारेर वडा कमिटीले ६ वटा जनवर्गीय संगठनहरुको घोषणा गरेको थियो । युवासंघ, अनेमसंघ, किसान महासंघ, उत्पीडित जातीय मुक्ति समाज , भूतपूर्व सैनिक प्रहरी मन्च र भूमि अधिकार मन्चको घोषणा एमाले नेता हरिवंश चौलागाईले गर्नुभएको थियो ।कार्यक्रममा सबैलाई स्वागत गर्दै पार्टीका वडा इन्चार्ज रामप्रसाद सापकोटाले ज्येष्ठजन समाजका साझा सम्पत्ति भएकाले सबैले सम्मानपूर्वक ब्यवहार गर्न आग्रह गर्नुभयो ।
सम्मान पश्चात गरिएको बनभोजमा विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । वडामा सक्रिय रहेका महिला समूहहरुलाई पार्टीका तर्फबाट आर्थिक सहयोग पनि गरिएको थियो । सम्मान कार्यक्रमलाई सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका चन्दादाताहरुलाई पनि वडा कमिटीले विशेष धन्यवादसहित प्रशंसापत्र प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्