कृषि र सहकारीधर्म/संस्कृतिबागमतीमुख्य समाचारसमाचार

भीमेश्वर मन्दिरमा राष्ट्रपतिको रुद्री पुजा

दोलखा/राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रुद्री पुजा गर्नु भएको छ । टुकी अवधारणा र अभियानको ४५ बर्ष पुगेको अवसरमा ग्रामीण विकास टुकी संघ दोलखा र सिन्धुपाल्चोकले आयोजना गरेको टुकी प्रर्दशनी कार्यक्रम उद्घाटनको लागि सदरमुकाम चरिकोट आउनु भएको राष्ट्रपति भण्डारी भीमेश्वर मन्दिरमा रुद्री पुजाको लागि ऐतिहासीक दोलखा सहरमा पुग्नु भएको थियो ।
भीमेश्वर मन्दिर परिसरमा पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल, बागमति प्रदेशका अर्थ मन्त्री जगन्नाथ थपलिया, प्रदेश सांसद भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ लगायतले स्वागत गर्नु भएको थियो ।
मुलुकमा कुनै परिर्वतन हुनुअघि सङ्केत स्वरुप भीमेश्वरको मूर्तीमा पसिना आउने जनविश्वास रहदै आएको छ । मूर्तीमा पसिना आएपछि राष्ट्रप्रमुखबाट क्षमा पुजा गर्ने प्रचलन समेत रहेको छ ।
भीमेश्वर मन्दिरमा रुद्री पुजा सम्पन्न गरी टुकी संघको कार्यक्रममा सहभागि हुनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले टुकी अवधारणा र अभियान सम्बन्धि बृत्तचित्र अवलोकन तथा टुकी अभियन्ताहरुको अनुभव सुन्नु भएको थियो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रामीण विकासको टुकी अवधारणा अभ्यासको क्रममा प्राप्त अनुभव र सिकाईहरु नेपालको अन्य क्षेत्रको विकासको लागि समेत उपयोगी हुनसक्दछ भन्ने आफुलाई लागेको बताउनु भयो ।
कार्यक्रममा टुकीका अभियन्ता डा कृष्ण कुमार पाँडेले माटोलाई साथ दियौ भने माटोले पनि साथ दिन्छ भन्ने टुकी सदस्यहरुको अवधारण ४५ बर्षको अवधिमा पूर्ण रुपमा पुष्टि भएको उल्लेख गर्नुहुदै टुकी संघ कुनै गैर सरकारी संस्था नभएकोले विकासको लागि टुकी अवधारणालाई नीतिगत रुपमा सम्बोधन हुनुपर्ने बताउनु भएको थियो ।
दोलखा मेलुङ गाँउपालिका वडा नम्बर– १ पवटीका टुकी रघुनाथ उप्रेतीले १४ बर्षको उमेरमा टुकी अभियानमा लागेर रोजगार मूलक तालिममा सहभागि भै बुबाले सुरु गर्नु भएको फलफुल खेतीलाई निरन्तरता दिएको र अहिले सोही व्यवसायबाट बार्षिक दुई लाख भन्दा बढी आम्दानी गर्दै आएको बताउनु भएको थियो ।
सिन्धुपाल्चोकको टुकी सविना लामाले ग्रामीण क्षेत्रमा सामूहीक कृषि व्यवसाय मार्फत जीवन स्तर सुधार कार्यमा टुकी संघको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको थियो । कार्यक्रममा टुकी संघ दोलखाका अध्यक्ष मकरध्वज पाख्रीन, टुकी संघ सिन्धुपाल्चोकका अध्यक्ष राजेन्द्र कुमार भण्डारी लगायतले टुकी अभियानको क्रममा आर्जन गरेको अनुभव सुनाउनु भएको थियो ।
२०३४ साल असोजमा स्थापना भएको टुकी संघमा हाल पाँच सय भन्दा बढी टुकी सदस्य रहेको जनाईएको छ । टुकी संघ दोलखा र सिन्धुपाल्चोकले जिल्लाको ग्रामीण क्षेत्रहरुमा टुकी सदस्यहरुको प्रत्यक्ष सहभागितामा कृषि, शिक्षा लगायतको क्षेत्रमा काम गर्दै आएको छ । ३७ बर्ष अघि राष्ट्रप्रमुखको तर्फबाट तत्कालिन राजा वीरेन्द्र शाहले टुकी सदस्यहरुसंग भेट गर्नुभएको टुकी अभियन्ता डा. कृष्ण कुमार पाँडेले बताउनु भयो ।

टुकी कार्यक्रमकाे उद्घाटन गर्नुहुदै राष्ट्रपति

सम्बन्धित समाचार