दोलखा/सत्ता गठबन्धनले जिल्लाको बिभिन्न ८ मतदान केन्द्रमा बुथ कब्जागरी फर्जी मत खसालेको आरोप सहित निर्वाचन आयोगमा उजुरी गरेपछि मतदान भएको तीन दिन वितिसक्दा पनि दोलखामा मतगणना या पुनः मतदान के हुने हो भन्ने अन्यौल कायमै देखिन्छ ।
एमालेले उजुरी गरेको तेस्रो दिन बुधवार निर्वाचन आयोगबाट सहसचिव यज्ञ प्रसाद भट्टराईको संयोजकत्वमा गुरु वाग्ले र मोहनराज जोशी सदस्य रहेको टोली दोलखा आएको र उक्त टोलीले सरोकारवाला निकायहरुसंग छलफल तथा बुथ कब्जा भएको भनिएका मतदान केन्द्रको स्थलगत अनुगमन गरेको जनाईएको छ । तर उक्त टोलिले निष्कर्ष दिईनसकेकोले अझैपनि मतगणना या पुनः मतदान के हुने हो अन्यौल कायमै रहेको दलका नेताहरु बताउछन् ।
नेकपा एमाले दोलखाले मतदान सम्पन्न भए लगतै मंसिर ४ गते साँझ दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर १, २, ३ र ६, तामाकोशी गाँउपालिका वडा नम्बर ३, मेलुङ गाँउपालिका वडा नम्बर ४, गौरीशङ्कर गाँउपालिका वडा नम्बर २, कालिञ्चोक गाँउपालिका वडा नम्बर १ र शैलुङ गाँउपालिका वडा नम्बर २ मा गठबन्धन दलले बुथ कब्जा गरी फर्जी मत खसालेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा उजुरी गरेको थियो ।
गठबनधनको धर्ना र नाराजुलुस
गठबन्धन दलका उम्मेदवार तथा नेता कार्यकर्ताहरुले भने तत्काल मतगणनाको माग गर्दै मंसिर ४ गतेदेखिनै मतपेटिका राखेको स्थानमा धर्ना तथा बजारमा नारा जुलुश गरिरहेका छन् ।
बुधवार गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार माओवादी केन्द्रका गंगा कार्की र प्रदेश सभा सदस्य तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश सभा क का उम्मेदवार कुन्दनराज काफ्ले तथा नेपाली कांग्रेस दोलखाका अध्यक्ष समेत रहेका प्रदेश सभा ख का उम्मेदवार बर्मा लामा सहितको टोलीले मतपेटिका राखिएको सदरमुकाम चरिकोट स्थित गौरीशङ्कर क्याम्पस प्राङ्गणमा आधा घण्टा धर्ना दिएका छन् । गठबन्धन दलका नेता कार्यकर्ताहरुले बुधवार पनि बजारमा नाराजुलस तथा राँके जुलुश प्रर्दशन गरेका थिए ।
तस्विर साैजन्य, जीवन लामा
प्रतिक्रिया दिनुहोस्