कला / साहित्यधर्म/संस्कृतिबागमतीमुख्य समाचारसमाचार

चरिकोटमा लाखेनाचको रौनक

दोलखा/चरिकोट बजारको चोक र सडकहरुमा यतिबेला लाखेनाच प्रर्दशन भै रहेका छन् । साँझ पख गरिने लाखेनाच हेर्न सयौ युवा– युवती तथा जेष्ठजनहरु भेलाहुदा चरिकोट बजारमा रौनक देखिने गरेको छ ।
नेवार समुदायका स्थानीय युवाहरुले २०१५÷०१६ सालबाट चरिकोटमा सुरु गरेको लाखेनाच प्रर्दशनलाई अहिले लालिगुँरास युवा क्लबले निरन्तरता दिई रहेको क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो । सांस्कृतिक किंवदन्तिलाई जिवन्त राख्न र सांस्कृतिक परम्परा सहित बजारमा रौनक ल्याउन क्लबले लाखेनाच प्रर्दशनलाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । कृष्ण अष्टमिको भोलिपल्टसम्म लगातार प्रर्दशन गरिने लाखेनाचले बजारको रौनक थप्ने र दोलखामा पर्यटकलाई थप आकर्षित गर्ने अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ ।
गठेमङ्ग (घण्टाकर्ण) को साँझ नाट्यस्वरीको पुजा गरी निवारी परम्परा अनुसार सुकुल भोज गरेर लाखेनाच प्रर्दशन गरिने परम्परा रहेको चरिकोट गुठिका अध्यक्ष स्थानीय जेष्ठजन रामदास श्रेष्ठले बताउनु भयो ।
किराँतकाल देखि छुट्टै राज्य रहेको दोलखा बजारमा प्रर्दशन गरिने लाखेनाचकै सिकोगर्दै चरिकोटमा पनि यसको प्रर्दशन गर्न थालिएको स्थानीय जेष्ठजनहरुको बुझाई रहेको छ । तर चरिकोटमा प्रर्दशन गरिने लाखेनाच र दोलखामा प्रर्दशन गरिने लाखेनाचको तरीका र बाजा भने फरक रहेको स्थानीय बताउछन् ।
चरिकोट गुठिका अध्यक्ष रामदास श्रेष्ठका अनुसार चरकोटमा सुरुमा डम्बर बहादुर श्रेष्ठले लाखे नाच्नु भएको थियो । त्यसपछि भक्तबहादुर श्रेष्ठ, हिरालाल श्रेष्ठ, देवकुमार श्रेष्ठ, दान बहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, नारायणलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ लगायत धेरै अग्रजहरुले यसलाई निरन्तरता दिनु भयो । अहिले लालिगुँरास युवा क्लबमा आवद्ध युवाहरु नाच्ने गरेको क्लबका अध्यक्ष प्रविण श्रेष्ठ बताउनु हुन्छ ।
लाखेलाई कंशको बहिनी पुतना मानिन्छ । यशोदाको गर्भबाट जन्मीएका कृष्णले आफुलाई मार्ने भएकोले कंशले आफ्नी बहिनी पुतनालाई कृष्णलाई मार्न पठाएको तर कृष्णलेनै पुतनालाई मारीदिएको धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ । सोही कुराको आधारमा कृष्ण अष्टमिको भोलीपल्ट कृष्णले लाखेलाई मारेर जात्राको अन्त्य गरिदै आएको क्लबका सचिव विपिन श्रेष्ठ बताउनु हुन्छ ।

सम्बन्धित समाचार