कृषि र सहकारीबागमतीमुख्य समाचारसमाचार

पालिकाको अभियानः बाँदर खेद्ने हैन पाल्ने

दोलखा/बाँदर आतङ्कबाट हैरानी खेपेका दोलखा कालिञ्चोक गाँउपालिकाका स्थानीयले अब घर घरमा त्यसको देखरेख र स्याहार शुसार गर्ने भएका छन् । स्थानीयको सहमतिकै आधारमा दोलखाको कालिञ्चोक गाँउपालिकाले आर्थिक बर्ष ०७९÷०८० को नीति तथा कार्यक्रममा बाँदर पाल्ने योजना ल्याएको हो ।
बाँदरले पालिकाको नौ वटै वडामा बाली खाएर हैरान बनाएपछि त्यसैको पिरलोका कारण कतिपय स्थानीय खेती किसानी छोडेर काठमाडौँ लगायतका ठाँउमा बसाई गएकोले गाँउपालिकाले आर्थिक बर्ष ०७९÷०८० को नीति तथा कार्यक्रममा एक घर, एक बाँदर अभियान समावेश गरेको वडा नम्बर ८ का वडा अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । उक्त अभियानको लागि गाँउपालिकाले पहिलो पटक पाँच लाख रुपैया बजेट विनियोजन समेत गरेको वडा अध्यक्ष आचार्यले बताउनु भयो ।
गाँउपालिकाले विनियोजन गरेको पाँच लाख बजेटले बाँदर समातेर पालिकाको हरेक घरमा पाल्नको लागि दिईने वडा अध्यक्ष आचार्यको भनाई छ । बाँदर पाल्ने खर्च भने सम्बन्धित किसानलेनै गर्नुपर्ने पालिकाले जनाएको छ ।
बर्षौदेखि बाँदरले हैरान पारेपछि कालिञ्चोक गाँउपालिकाका झण्डै २० प्रतिशत स्थानीय अन्यत्र बँसाई गरेकोले खेतबारी बाँझै रहेको पालिकाले जनाएको छ । बाँदर आतङ्ककै कारण थातथलो छोडेर बँसाई गएकाहरु लाई फर्काउने र बाँझो खेतबारीमा पुनः तरकारी, अन्नबाली लगायत उत्पादन गर्न प्रोत्साहित गर्ने उदेश्यले एक घर, एक बाँदर अभियान सुरु गर्न लागिएको वडा अध्यक्ष आचार्य बताउनु हुन्छ ।
बाँदरले बर्षौदेखि अन्नबाली नष्ट गरेर हैरान पारेकोले आफुहरु पालिकाले भनेअनुसार घरमा ल्याएर बाँदर पाल्न सहमत रहेको वडा नम्बर ९ का स्थानीय कृष्णप्रसाद प्रसाई बताउनु हुन्छ । दुःख गरेर लगाएको अन्नबाली नष्टबनाएर खानेसमस्या झेल्नु भन्दा बाँदरलाई केही खर्च गरेर पाल्नुनै उपयुक्त लागेकोले पालिकाको अभियानमा आफुहरु समहत रहेको प्रसाई बताउनु हुन्छ ।
कालिञ्चोक गाँउपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी बन्यजन्तुको बाँच्न पाउने अधिकार सुरक्षित गर्दै किसानको अन्नबाली जोगाउने उपाएको रुपमा स्थानीयकै सहमतिमा एक घर, एक बाँदर अभियान सुरु गर्न लागिएको बताउनु हुन्छ । यो अभियानले बाँदरको प्रजनन् दर घट्ने र धेरैहद सम्म समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा लिईएको अध्यक्ष शिवाकोटी बताउनु हुन्छ ।
यो अभियानको लागि हाल पाँच लाख रकम विनियोजन गरिएको र कार्यक्रमको प्रभावकारीता तथा आवश्यकता हेरेर बजेट थप गर्न सकिने अध्यक्ष शिवाकोटी बताउनु हुन्छ ।
बाँदर लखेट्ने क्रममा एक पुरुषको मृत्यु
दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ८ मा बाली खान आएको बाँदर धपाउने क्रममा ह्रदयघात भै ५५ बर्षिय रामबहादुर कार्कीको निधन भएको स्थानीयले बताएका छन् ।
शुक्रवार बाली खान आएको बाँदर लखेट्ने क्रममा रामबहादुर कार्कीलाई ह्रदयघात भएको र तत्काल हेलिकप्टर मार्फत काठमाडौँको न्युरो अस्पताल लगिएको भएपनि उपचारकै क्रममा उहाँको निधन भएको थियो ।
शुक्रवार आफ्नो बारीमा अन्न खान आएको बाँदर लखेट्ने क्रममा रामबहादुर कार्की बेहोस भएर लडेको र तत्काल उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको भएपनि उहाँको उपचारकै क्रममा निधन भएको स्थानीय इन्द्र बहादुर कार्कीले बताउनु भयो । मृतक रामबहादुर मुटुको रोगि भएकोले औषधि सेवन गरिरहेको पनि स्थानीय इन्द्र बहादुर कार्कीले बताउनु भयो ।

सम्बन्धित समाचार