बागमतीमुख्य समाचारराजनितिसमाचार

दोलखाको कालिञ्चोक गाँउपालिका बालमैत्री

दोलखा/दोलखाको कालिञ्चोक गाँउपालिकालाई शनिवार बालमैत्री गाँउपालिका घोषणा गरिएको छ । पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले विशेष कार्यक्रमको अवसरमा गाँउपालिकालाई बालमैत्री घोषणा गर्नु भएको हो ।
सो अवसरमा पूर्व मन्त्री गुरुङले बालमैत्री घोषणाको लागि आवश्यक पर्ने सूचकहरु महत्वपूर्ण रहेकोले त्यसको पूर्ण कार्यान्वयन गर्दै बालबालिकाको हितमा काम गर्न स्थानियलाई आग्रह गर्नु भयो ।
कालिञ्चोक गाँउपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले व्यवस्था गरेका ५१ वटा सूचक पुरा गरेपछि आर्थिक वर्ष २०७७÷७८ बाट बालमैत्री स्थानीय शासन अबलम्बन गरेको र त्यसैको आधारमा शनिवार गाँउपालिकालाई बालमैत्री घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताउनु भयो ।
कालिञ्चोक गाँउपालिकाका प्रमुख विनकुमार थामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, शिविन नेपालका अध्यक्ष माधव प्रधान, भीमेश्वर नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत नारायण सेढाई, शिक्षक महासंघ कालिञ्चोक गाँउपालिकाका अध्यक्ष दाताराम नेपाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
१८ बर्ष मुनिका १५ हजार एक सय ८९ जना बालबालिका रहेको कालिञ्चोक गाँउपालिकामा सामुदायीक तथा संस्थागत विद्यालय अध्यन गर्ने बालबालिकाको संख्या छ हजार पाँच सय ४३ जना रहेको जनाईएको छ । पालिकामा ४८ वटा बाल क्लब, दुई वटा पालिका स्तरीय बाल सञ्जाल र आठ वटा वडा स्तरीय बाल सञ्जाल रहेको पालिकाले जनाएको छ ।

सम्बन्धित समाचार