दोलखा/मूडे– चरिकोट सडकमा भएको ढिलासुस्ती विरुद्ध स्थानीयले हाम्रो सडक कैले बन्छ भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र सचिव रविन्द्रनाथ श्रेष्ठको फोटो यातायातका साधनहरु मा टाँसेर विरोध गरेका थिए ।
स्थानीयको तिब्र विरोध पछि अहिले निर्माण व्यवसायी भीमशेन भण्डारीले काम सुरु गरेका छन् । सोमवार सडक निर्माणको काम हेर्न दोलखा आएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव, सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक शिवहरी सापकोटासंग संघर्ष समितिका सदस्यहरुले भेट गरे ।
भेटको क्रममा मन्त्री यादवले आफ्नो फोटो टाँसेर विरोध गरेकोमा आफुलाई दुःख नलागेको बताउनु भयो । सडक नबने पछि जनताको आक्रोश स्वभाविक हो, मन्त्री यादवले भन्नु भयो – विरोधले हामीलाई सतर्क र जिम्मेवार बनाउछ ।
आन्दोलनको बेला म भर्खरमात्र विभागीय मन्त्री बनेर आएको थिए मन्त्री यादवले भन्नु भयो – फोटो टासेको भन्ने सुन्दा शुभकामना पो दिएछन् कि भन्ने लाग्यो, पछि मन्त्रालयका साथीहरुले विरोध गरेको भनेपछिमात्र कुरो बुझे । अब सडक निर्माणको माग राखेर आफ्नो फोटो टाँस्न नपर्ने पनि मन्त्री यादवले बताउनु भयो ।
मन्त्री यादवले सडकको विस्तारले पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुहुदै दोलखा धार्मिक एवं प्राकृतिक पर्यटनको लागि महत्वूर्ण रहेको बताउनु भयो । सडकको कुरा गर्दा मेरो ध्यान चरिकोट र नगरकोटमै जाने बताउनु भयो ।
सचिव रविन्द्रनाथ श्रेष्ठले संघिय सरकार अन्र्तगत देशभर ८० वटा सडक रहेको र त्यसमा दोलखालाई उच्च प्राथामिकतामा राखिएको बताउनु भयो । सचिव श्रेष्ठले दोलखाको लामाबगर नाकाबाट तिब्बत जोड्ने सडक र कालिञ्चोकको सडक देशकै लागि महत्वपूर्ण रहेको बताउनु भयो ।
सडक विभागका महानिर्देशक शिवहरी सापकोटाले आफुले दोलखा सडक निर्माणकै काममा सात बर्ष विताएको ले दोलखाको विकास आफ्नो प्राथामिकतामा रहने बताउनु भयो । उहाँले मूडे– चरिकोट सडक जसरी पनि समयमै सम्पन्न हुने बताउनु भयो ।
भारतिय एक्जीम बैङ्कको सहयोगमा २ बर्षमा काम सम्पन्न गर्ने गरी भारतिय ठेकेदार कम्पनि सकिल हैदर र नेपालको शङ्करमाली– सुनौलो मिम्ति जेभीले मूडे– चरिकोट सडकको काम लिएको थियो । तर ६ बर्षसम्म पनि काम सम्पन्न नभएपछि स्थानियले फोटो टाँस्ने, सिटी जुलुस, सडक विभाग र आयोजनाको कार्यालयमा तालाबन्दि, साङ्ले जुलुश जस्ता विरोधको कार्यक्रम गरेको थियो । तीन महिना अघिदेखि भने नेपालको निर्माण कम्पनिले काम सुरु गरेको छ । सडक विभागका महानिर्देशक शिवहरी सापकोटाले दुई महिना भित्र कालोपत्रेको काम सकिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्