दोलखा/कालिञ्चोकको ३८७२ मीटरको रमणीय उँचाईबाट गौरीशङ्कर लगायतका हिमश्रङ्खला नियाली रहदा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निक्कै उत्साहित देखिनु भएको थियो । ओलीले स्थानिय प्रायसमै सानो पहाडी टाँपुमा भएको विकास उल्लेख्य रहेको प्रतिकृया दिनु भयो ।
हेलिकप्टरबाट कालिञ्चोक पुग्नु भएका एमाले अध्यक्ष ओलीले कालिञ्चोकको केबलकार, शैलुङ, विगु गुम्बा, फिल्मशिटी, तामाकोसी आयोजना जस्ता प्राकृतिक स्रोतले दोलखाको विकासमा उल्लेख्य टेवा पुगेको बताउनु भयो । लामाबगरबाट सुरुङ मार्ग सहित चिनको तिब्बत जोड्ने सडक निर्माण हुन सके दोलखामा विकासका थप सम्भावनाहरु भित्रने उहाँको भनाई थियो । आफ्नो सरकारको पालामा सुरुङमार्गको लागि प्रयास गरेको स्मरण गर्नुहुदै पूर्व प्रधानमन्त्री ओलीले उक्त योजनालाई प्राथामिकताका साथ अघि बढाउनु पर्ने बताउनु भयो ।
पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले राजनीतिक कुराकानि भने गर्न चाहनु भएन । अर्ली इलेक्सन र सत्ता गठबन्धनको विषयमा पत्रकारहरुले जिज्ञासा राख्न खोज्दा अध्यक्ष ओलीले कालिञ्चोक जस्तो पवित्र भूमिमा अरुकुरा गर्न नचाहेको बताउनु भयो । उहाँले दैते, दानवहरुको विनास हुने र देवादीदेवको विजय हुने प्रतिकृया दिनु भयो ।
पत्नी राधिका शाक्य सहित कालिञ्चोक दर्शनमा पुग्नु भएका ओलीले कालिञ्चोकको टाँपुमा रहेको बिभिन्न मठमन्दिर तथा कुण्डको दर्शन गर्नु भएको थियो । झण्डै चार घण्टा कालिञ्चोकमा विताउनु भएका ओलीले धार्मिक महत्व, प्राकृतिक स्थल आदीको बारेमा समेत जिज्ञासा राख्नु भएको थियो ।
कालिञ्चोकबाट शैलुङ डाँडा पुग्नु भएका अध्यक्ष ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठान काठमाण्डौँकोे आयोजना, दोलखाको शैलुङ र मेलुङ्ग गाउँपालिका तथा रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाको समन्वयमा भएको शैलुङ्ग साहित्यिक एवं सांस्कृतिक महोत्सव २०७८ को शुभारम्भ समेत गर्नु भएको थियो । महोत्सवमा एमाले नेता प्रदीप ज्ञवाली, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष विजय सुब्बा लगायत एक सय जना कविहरुले आफ्ना साहित्यिक रचना प्रस्तुत गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्