दोलखा/साउथ फिल्मको प्रभावमा साथीको हत्या गर्ने दुई नाबालक सहित तीन जनालाई प्रहरीले पक्राउ गरी आईतवार सार्वजनिक गरेको छ । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ फुलपाका किसिम तमाङका १६ बर्षिय छोरा साहिल तमाङलाई २० बर्षिय पुष्कर थामीले १३ र ११ बर्षको दुई जना साथीसंग मिलेर साउथ फिल्मको सिकोगर्दै हत्या गरेका हुन् ।
शुक्रवार भीमेश्वर नगरपालिका वडा नम्बर ३ जलदेवी मन्दिर नजिक पाखावारी जंगलमा बाँदर धपाउन पुगेका स्थानिय महिलाहरु ले हात, खुट्टा र अनुहार छोपिने गरी कपडाको सेतो मेडिकल टेपले बेहेरेर आधि गाडेको अवस्थामा युवकको शव देखेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेको र प्रहरीले उक्त शवको फोटो सामाजिक सञ्जालमा राखेपछि साहिल तमाङको भएको खुलेको थियो ।
प्रहरीको सक्रियतामा शव भेटिएको भोलिपल्टै घट्नामा संलग्न तीन जनालाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेल सहितको अनुसन्धान टोलिले शङ्कास्पद केहिलाई पक्राउ गरी सोधपुछको क्रममा घट्नामा संलग्नको पहिचान भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पुष्कर थामी सहित तीन जना र मृतक साहिल तमाङ मिल्ने साथी भएकोले प्रायः सधै संगै घुम्ने गरेका थिए । मृतक साहिलले पुष्करको स्पिकर लगेको तर पटक पटक माग्दा पनि नदिएपछि पुष्करले दुई नावालकसंग साउथ फिल्ममा देखाउने जसरी साहिलको हत्या गर्ने योजना सुनाएका थिए ।
गत फागुन ७ गते शनिवार विहान साढे १० बजेतिर चारै जना दुईवटा गुलेली बोकेर चरा मार्न भनि उक्त जङ्गलमा गएको र चरा मारेर खाईसकेपछि स्पिकर माग्दा पुष्कर र साहिलको झगडा परेपछि तीन जना भएर उनको हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनु भयो ।
तीन जना मध्य पुष्करले मृतक साहिलको दुबैहात कसेर समाएको र दुई नाबालकले गुँसारको एउटै लठ्ठीले पछाडीबाट टाउकोमा प्रहार गरेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो । लठ्ठीको प्रहारबाट बेहोस भएका साहिललाई पहिलेनै मेडिकलबाट लगेको सेतो कपडाको मेडिकल टेपले हातखुट्टा र मुखमा समेत बेहेरेर जिउदै खाल्डोमा पुरेका थिए ।
उनीहरु तीनै जना गरिव परिवारको भएको र बेलाबखत चोरी कार्यमा समेत संलग्न पाईएको प्रहरीले जनाएको छ । नावालकहरु बाट फिल्मी शैलीमा हत्या जस्तो गम्भीर अपराध हुनु र त्यसमा उनीहरुलाई पछुतो समेत नहुनु गम्भीर रहेको प्रहरी नायव उपरीक्षक पौडेल बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्