बागमतीमुख्य समाचारराजनितिसमाचार

प्रदेशको बन मन्त्रालयसंग विशेष अधिकार छ – प्रदेश मन्त्री खड्का

दोलखा/बागमति प्रदेशका बन तथा वातावरण मन्त्री एवं माओवादी केन्द्रका युवा नेता विशाल खड्काले आफु दोलखाबाट प्रदेश सांसद निर्वाचित हुदा तत्कालिन एमालेसंग गठबन्धन गरेर निर्वाचित भएको र अहिले मन्त्री हुदा कांग्रेस लगायतसंग गठबन्धन भएकोले आफुले काम गर्दा सबैपक्षको मतको कदर गर्नुपर्ने कर्तव्य रहेको बताउनु भएको छ ।
शनिवार प्रेस सेन्टर नेपाल दोलखाले आयोजना गरेको सम्मान तथा पत्रकार सम्मेलन कार्यक्रममा प्रदेश मन्त्री खड्काले राजनीतिक रुपमा विभेद नगरी आफ्नो मन्त्रालयको कार्यक्षेत्र अनुसार जनताको आवश्यकताको आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रदेशको वन तथा वातावरण मन्त्रालयलाई संविधानले नै केहि विशेष अधिकार दिएकोले आफ्नो दायित्व र जिम्मेवार पनि बढी रहेको उल्लेख गर्नुहुदै मन्त्री खड्काले आफुले काम गर्न पाउने झण्डै ढेड बर्षको अवधिमा केहि उल्लेख्य काम गर्ने समेत बताउनु भयो ।
मन्त्री खड्काले काठको वितरणको सवालमा नेपालको कानुन उपयुक्त नदेखिएकोले नेपालमा राम्रो काठहरु हुदाहुदै पनि मलेशियाबाट काठ ल्याउनु पर्ने अवस्था रहेको उल्लेख गर्नुहुदै त्यसको सुधारको लागि प्रयत्न गर्ने बताउनु भयो । काठ वितरण सम्बन्धि कानुनमा सुधार गरेर वातावरणीय हिसाबले प्रयोग गर्न मिल्ने रुख कटान गरी त्यसको वितरण सहज बनाउन आफुले प्रयत्न गर्ने मन्त्री खड्काले बताउनु भयो ।
मन्त्री खड्काले संघियता पछि जिल्ला सदरमुकाममा रहेका कार्यालयहरु प्रदेश तथा आसपासका जिल्लामा स्थानान्तरण हुदा जनताले समस्या भोग्नु परेको उल्लेख गर्नुहुदै त्यस्ता कार्यालयहरु सबै जिल्लामा कायमै राख्ने कुरामा आफुले पहल गर्ने बताउनु भयो ।
प्रेस सेन्टर नेपाल दोलखाका अध्यक्ष शिवकुमार भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुलबहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभागका सदस्य लक्ष्मण खड्का, नेपाल प्रेस काउन्सीलका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा र नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन घिमिरे मन्त्री खड्कालाई शुभकामना सहित सुझाब दिनु भएको थियो ।

कार्यक्रममा सहभागि प्रदेश मन्त्री विशाल खड्का ।

  • तस्विर साैजन्य- शम्भु गाैतम

सम्बन्धित समाचार