बागमतीसमाचार

माधव नेपालले एमालेलाई कमजोर बनाउँछु भन्नु, पहाडमा कुहिनोले हान्नु जस्तै होः शंकर पोखरेल

२० असोज, चरिकोट


नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले माधव नेपाललाई चुनौति दिएका छन् । उनले एमालेलाई कमजोर बनाउँछु भन्दै हिड्नु पहाडमा कुहिनोले हान्नु जस्तै हास्यापद कुरा भएको बताएका छन् । एमाले दोेलखाको बृहत कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेता पोखरेलले बुर्जुवाहरुको नेतृत्व गर्ने नेपाली कांग्रेसको बुइ चढेका नेता नेपाल कम्युनिष्ट आन्दोलाइ सिध्याउन लागि परेको औँल्याए ।


हाल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई चारैतिरबाट प्रहार गर्नु भनेको नेपाली जनतालाई प्रहार भएको टिप्पणी उनले गरेका छन् । पोखरेलले संविधान निर्माण, भारतको नाकाबन्दी, चुच्चे नक्सा प्रकाशन, ठूला परियोजनाको नेतृत्व जस्ता कुराले केपी ओली बाट तर्सिएकाहरु एकजुट भएर विरोध गरिरहेका तैपनि एमाले कमजोर नहुने बताए ।

ठूला राजमार्गहरु निर्माण, अन्तराष्ट्रिय विमानस्थलहरुको निर्माण, ठूला जलविद्युत, सुरुङमार्ग, रेलसेवा, पानीजहाज सेवा, खानी उत्खनन जस्ता विकासका काम एमालेको नेतृत्वमा मात्रै सम्भव भएको नेता पोखरेलले ठोकुवा गरे ।


एमालेले भर्खरै सम्पन्न गरेको विधान महाधिवेशनका बारेमा बोल्दै नेता पोखरेलले नेपाली राजनीतिमा ६ हजार भन्दा बढी कार्यकर्ताको उपस्थितिमा विधान महाधिवेशन सम्पन्न हुनु ऐतिहासिक भएको जानकारी दिए । उनले कुनैपनि दलले आजसम्म यति धेरै कार्यकर्ताको उपस्थितिमा साझा विधान र दस्तावेज बनाउन नसकेको दावी गरे ।


नेता पोखरेलले दोलखाका प्रिय अनि बहुचर्चित नेता पशुपति चौलागाई सबैका आदरणीय ब्यक्तित्व रहेका र उनको सम्झनामा दोलखामा एउटा बहुउद्धेशीय हल बनाउन पहल गर्ने बचनबद्धता समेत ब्यक्त गरे ।


कार्यकर्ता भेलालाई एमाले केन्द्रीय सदस्य एवं वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेल, केन्द्रीय सदस्य पार्वत गुरुङ, केन्द्रीय सदस्य इश्वरी रिजाल लगायतका नेताले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार