१६ साउन, चरिकोट
नेकपा एमाले दोलखाको जिल्ला कमिटी बैठकले सबै संगठित सदस्यहरुको साउन महिना भित्र नवीकरण गरिसक्ने निर्णय गरेको छ । आगामी विधान सम्मेलन र पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै संगठित सदस्यहरुको फोटो सहितको विवरण राखेर नवीकरण गरिने अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो । बैठकमा पोखरेलले २०७२ सालदेखि नवीकरण नभएका सदस्यहरुको यस अघिको समयलाई शुन्य समय मानेर सबै शुल्क मिनाहा गर्ने र यस बर्षको नवीकरण तीन सय रुपैयाँ लिएर गरिने बताउनुभयो ।
नेकपा एमालेको २४ औँ जिल्ला कमिटि बैठकलाई केन्द्रीय स्तरका नेताहरु कृष्ण भूजेल, इश्वरी रिजाल, पार्वत गुरुङ र आनन्द पोखरेलले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा नेताहरुले पार्टीभित्र देखिएका असन्तुष्ट पक्षलाई चित्त बुझाएर मूल धारमा ल्याइने र एमालेमा पुनर्जीवन दिइने बताउनुभयो । एमालेका पोलिटब्यूरो सदस्य माननीय पशुपति चौलागाई प्रति श्रद्धान्जली प्रकट गर्दै नेताहरुले पशुपति चौलागाई प्रतिष्ठानको काम तत्कालै सुरु गरिने बताउनु भयो ।
पछिल्लो समयमा एमाले भित्रको असमझदारी र समस्याले पार्टी पंक्ति र जनतामा निराशा फैलिएकाले यो छिटै समाधान हुने र एमाले एकढिक्का हुने कुरामा नेताहरुले जोड दिनुभएको थियो । देशी विदेशी शक्तिहरु नेपालको कम्युनिष्ट आन्दोलन कमजोर पार्न निकै कसरत गरिरहेका भएपनि उनीहरु पुरै कमजोर हुने र एमाले पुनः शक्तिशाली भएर जनतामाझ आउने विश्वास एमाले नेताहरुले ब्यक्त गर्नुभयो । नेताहरुले सबै दक्षिणपन्थी गठबन्धन र पार्टीविरोधी शक्तिका बिरुद्धमा एकजुट भएर लाग्न आम कार्यकर्तालाई आव्हान गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्