दोलखा/दोलखाको प्रसिद्ध भमेश्वर मन्दिरको शिलामा मंगलवार दिउँसो झण्डै साढे दुई घण्टा पसिना आएको छ । शिलामा पसिना आउदा देशमा कुनै शुभ या अशुभ प्रभाव पर्न सक्ने जनविश्वास रहदै आएको छ । विश्वमा कोरोना संक्रमण हुनु अघि गत २०७६ फागुन ८ गते विहिवार पनि भीमेश्वरको शिलामा दुई घण्टा भन्दा बढी समय पसिना आएको थियो ।
मंगलवार दिउँसो एक बजेर ५३ मिनेट जाँदा भीमेश्वरको शिलामा पसिना आउन सुरु गरेको थियो । पहिलो पटक २ः५५ बजेसम्म शिलामा पसिना आएर केहि समय रोकिएको र पुनः केहि समय पछि पसिना आउन सुरु भै दिउँसो ३ः ५३ सम्म पसिना आएको भीमेश्वर गुठि तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । शिलामा पसिना आउदा गाढा कालो रङ्गको शिला फुस्रो हुने र मसिनो दाना दाना गरी पसिना आउन सुरु गर्ने अध्यक्ष श्रेष्ठले बताए । भीमेश्वरको शिलामा दाँया पट्टी बाट पसिना आउदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउदा जनता र सबैतिर बाट आउदा देशमा राम्रो या नराम्रो प्रभाव पर्ने जनविश्वास रहदै आएको छ । मंगलवार शिलाको सबैतिरबाट पसिना आएको अध्यक्ष श्रेष्ठले बताए ।
कोरोना संक्रमणका कारण वाहिरी पुजा बन्द रहेपनि नित्य पुजा दैनिक पाँच पटक हुदै आएको भमिेश्वर नगरपालिका वडा नम्बर २ दोलखाका वडा अध्यक्ष विराज श्रेष्ठले बताए । मंगलवार २ बजे हुने राज पूजाको लागि भमिेश्वरको शिला पुच्छने क्रममा टहलवा काशिनारायण श्रेष्ठले पहिलो पटक शिलामा पसिना आएको देखाका थिए । उनले गुठियार, मन्दिरका पुजारी लगायतलाई खबर गरेपछि मन्दिर परिसरमा ठूलो संख्यामा स्थानियको भीड लागेको थियो । भीमेश्वरको पूजा बिहान ५ बजेअघि आरम्भ, ९ बजे रुद्री, मध्यान्ह १२ बजे छक्काल (मध्यान्ह), दिउँसो २ बजे राजपूजा र साँझ ६ बजे सन्ध्या आरती पूजा गरिन्छ ।
कुनै अनिष्ठ नहोस भन्दै मन्दिर परिसरमा ठूलो आवाजका साथ घण्टा तथा नगर बजाएर धुपदिप सहित प्रार्थाना गरिएको थियो । मन्दिरका गुठियारहरुले भीमेश्वरको सिलामा आएको पसिना कपासले पुछेका थिए । मन्दिरका पुजारी र गुठियारहरुले शिलालाई चमरले हम्किए, डमरु बजाए, बाजागाजा बजाए र भीमेश्वरलाई कष्ट नहोस् भन्ने कामना गरे । भीमेश्वरको शिलामा पसिना आएपछि दीक्षा प्राप्त गरेको व्यक्तिले विधिपूर्वक पूजाआजा गरी पसिना कपासले पुछ्नुपर्ने प्रचलन छ । विधिपूर्वक पूजा गरी पुछिएको कपास मन्दिरमा आएका भक्तजनहरुलाई बाँडिएको थियो ।
भीमेश्वरको शिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँसी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको, २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको, २०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको स्थानीय स्मरण गर्दछन् । त्यसैगरी २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमत संग्रह भएको, २०४५ साल चैत्रमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरवार हत्या काण्ड भएको स्थानिय बताउछन् । त्यस्तै २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जन आन्दोलन भएको र २०६४ साल जेष्ठ ५ गते पसिना आउँदा राजतन्त्रको अन्त्य भएको उनीहरु बताउँछन् । त्यसैगरी पछिल्लोपटक २०७० साल मंसिर र फागुन १३ गते र २०७४ असोज १० गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।
भीमेश्वरको शिलामा आएको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने प्रावधान छ । यसरी राष्ट्रपति कार्यालयमा प्रसादको रुपमा कपास पठाएपछि त्यहाँबाट क्षमापूजा पठाइने प्रचलन छ । विधिपूर्वक सो क्षमापूजा गरेपछि संकट टर्ने जनविश्वास छ । राष्ट्रपति कार्यालयमा बुधवार प्रसाद पठाउने तयारी भएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले पनि परम्परा अनुसार बुधवारनै पसिना पुछेको कपास (प्रसाद) राष्ट्रपति समक्ष पठाउने बताए ।
प्रतिक्रिया दिनुहोस्