अर्थ र ब्यापारकृषि र सहकारीबागमतीमुख्य समाचारसमाचार

हरेक विषय पारदर्शी रहेको मिलिजुली कालिञ्चोकको दावि

दोलखा/केहि सञ्चारमाध्यममा अनियमितताको खबर छापिएपछि सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिले त्यसको खण्डन गरेको छ ।
केहि सञ्चारमाध्यमले मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिले अन्य सहकारीहरु संग एकिकरण गर्दा आर्थिक लेनदेन भएको, एक्सेस ब्राण्ड खरिद गरेको, सहकारीको नीति विपरित ऋण लगानि गरिएको, ऋण लगानि गर्दा आर्थिक लाभ लिने गरेको जस्ता आरोप सहितको समाचार प्रकाशित गरेको थियो ।
त्यसको खण्डन गर्दै अध्यक्ष नारायणबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले आरोप प्रमाणीत भए जुनसुकै कानुनी सजाय भोग्न तयार रहेको बताएका छन् । अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत न्यौपानेले विज्ञप्ति जारी गर्दै २०५० सालमा स्थापना भएको सहकारीलाई अहिलेको अवस्थासम्म ल्याउन कानुनी दायरामा रहेर बिभिन्न संर्घष गरिएको र नैतिक रुपमा प्रश्न उठ्ने गरी कुनै पनि गैर कानुनी काम नगरेको उल्लेख गरेका छन् ।
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) को प्राविधिक सहयोगमा एसियाली ऋण महासंघ (अकु) द्वारा सञ्चालित एक्सेस ब्राण्ड कार्यक्रममा २०६८ सालबाट सहभागि भै बिभिन्न ८६ वटा सुचक पार गर्दै २०७४ सालमा एक्सेसको ब्रोञ्च ब्राण्ड तथा २०७५ र २०७६ सालमा एक्सेसको सिल्भर ब्राण्ड प्राप्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उल्लेखित ब्राण्ड प्राप्त गर्न सहकारीले पार गरेको सूचकको विषयमा जुनसुकै बेला स्थलगत अनुगमन गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए ।
सहकारीले ऋण लगानि गर्दा संघिय, प्रदेश र स्थानिय सहकारी ऐन तथा नियमावली, संस्थाको विनियम, ऋण नीति, साधारण सभाको निर्देशन र सञ्चालक समितिको निर्णय अनुसार गर्नु पर्ने बाध्यकारी अवस्थामा प्रमुख कार्यकारी अधिकृत, कर्मचारी या कुनै सञ्चालकले आर्थिक लाभ लिएर धितो बिना, सेयर सदस्यलाई जानकारीनै नदिई या अरु कुनै गैर कानुनी ढङ्गले ऋण लगानी गर्ने सम्भावना नरहने अध्यक्ष श्रेष्ठ बताउछन् ।
त्यसैगरी अन्य सहकारी संस्थाहरु संग एकिकरण गर्दा आर्थिक लाभ दिने गरेको कुरामा पनि कुनै सत्यता नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हाल मिलिजुली कालिञ्चोक सहकारी संस्थामा बिभिन्न नौ वटा सहकारी एकिकरण भएको र थप केहि सहकारी संस्थाहरुसंग एकिकरणको लागि छलफल भै रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठ अन्य सहकारीहरु संगको एकिकरण मिलिजुली कालिञ्चोक सहकारीको मात्र सरोकार र आवश्यकताको विषय नभै एकिकरणमा सम्वद्ध सहकारी संस्थाका सदस्यहरुको चाहना, भावना र समग्र राष्ट्रको नीति अनुसार भएकोले यस्तो अवस्थामा आर्थिक लेनदेन या अन्य कुनै प्रकारको प्रलोभन कोहि कसैलाई पनि आवश्यक नहुने बताउछन् ।
मिलिजुलीसंग एकिकरण भएको कालिञ्चोक सहकारीका अध्यक्ष राजेश उप्रेती र सिंगटी सहकारीका अध्यक्ष बोधराज श्रेष्ठले एकिकरणको बेला आर्थिक लाभ लिएको आरोपको खण्डन गर्दै आरोप प्रमाणीत गर्न चुनौती दिएका छन् । सहकारी एकिकरण एक जनाको निर्णयले हुने नभै साधारण सभाको निर्णयबाट हुने भएकोले अध्यक्षले आर्थिक लाभ लिएको भन्ने समाचार चरित्र हत्या गर्ने प्रयासमात्र भएको उनीहरुको आरोप छ ।
आन्तरीक राजश्व कार्यालय, सहकारी बैङ्क, नेप्सकुन लगायतका निकायबाट बिभिन्न समयमा पुरस्कृत हुर्दै आएको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिको प्रमुख कार्यकारी अधिकृतले प्राप्त गर्नु भएको पुरस्कारको बारेमा उठाईएको प्रश्न समेत नाजायज तथा चरित्र हत्या गर्ने मनसायबाट प्रेरित रहेको जनाईएको छ । त्यसैगरी संस्थाले सवारी साधन खरीद गरे यता दुई महिना जति आवश्यक केहि ठाँउमा लगिएको र त्यसको लागि समेत लकबुक भरेर लानुपर्ने व्यवस्था रहेकोले अनावश्यक दुरुपयोगको सम्भावना नरहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
त्यसैगरी जिल्ला सहकारी संघ लिमिटेड दोलखाका अध्यक्ष हेमन्त चौलागाईले विज्ञप्ति प्रकाशित गरी बिभिन्न एक्सेस ब्राण्ड तथा पुरस्कार प्राप्त गरेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिले कुनै प्रकारको गलत काम गर्दैन भन्ने विश्वास लिएको उल्लेख गर्दै केहि कमजोरी भए सच्चाउन र छानविन गरी तथ्य बाहिर ल्याउन आग्रह गरेको छ । अध्यक्ष चौलागाईले समाचार प्रकाशित गर्दा पनि तथ्य बुझेर र सम्बन्धित पक्षसंग समेत प्रतिक्रिया लिएरमात्र प्रकाशित गर्न अनुरोध गरेका छन् ।
नेप्सकुनको छानविन
यसै बीच मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिको विषयमा बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) ले सहकारीको बिभिन्न गतिविधिहरुको विषयमा छानिविन गरेको छ । नेफ्स्कुनका बरिष्ठ तालिम अधिकृत र अनुगमन अधिकृतको टोलिले स्थलगत रुपमा केहि दिन अध्ययन गरी फर्किएको संस्थाले जनाएको छ ।
त्यसैगरी सहकारीको लेखा समितिले समेत सहकारी विज्ञ तथा नागरिक समाजको प्रतिनिधि सहितको छानविन समिति गठन गरी थप अध्यन सुरु गरेको जनाईएको छ । नेफ्स्कुन र संस्थाको लेखा समितिको छानविन पछि संस्थाका गतिविधिहरुको विषयमा सेयर सदस्य, सरोकारवाला निकाय र सञ्चारकर्मीहरुलाई समेत थप प्रष्ट हुने अध्यक्ष श्रेष्ठ बताउछन् ।

सम्बन्धित समाचार