दोलखा/दोलाखमा मंगलवार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार थपिएका ११ जनामा चार जना सुरक्षाकर्मी र बाँकी सबै भीमेश्वर नगरपालिकाका स्थानिय रहेको स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।
मंगलवार थपिएका ११ जनामा भीमेश्वर नगरपालिका वडा नम्बर ३, ६ र ८ का एक/एक जना, वडा नम्बर ४ र ७ का दुई/दुई जना तथा सुरक्षाकर्मी चार जना रहेको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्काले बताउनु भयो । सोमवार (कार्तिक १७ गते) २५ जनाको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणको लागि पठाईएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो । सङ्क्रमित सबै लक्षण सहितका विरामी रहेको खड्काले बताउनु भयो । सोमवार पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दोलखामा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेपनि सर्तकताको लागि स्थानिय प्रसाशनले चासो नदिएको स्थानियको आरोप छ । जिल्लामा मंगलवारसम्म एक सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८० जना ठिक भै सकेको र ७४ जना सक्रिय संक्रमित बाँकी रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
यसै बीच जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मंगलवार भएको बैठकले सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालमा पिसिआर परिक्षणको लागि मेशिन राख्न दोलखाबाट प्रतिनिधित्व गर्नुहुने संघिय तथा प्रदेश सांसदहरुलाई पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत ५०÷५० लाख सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताउनु भयो ।
त्यसैगरी बजार क्षेत्रमा व्यापार व्यवसाय लगायतमा सर्तकता अपनाउने, फुटपाथको व्यापार विहान ९ बजेसम्म मात्र सञ्चालन गर्न दिने, जिल्लामा रहेको बिभिन्न जलविद्युत आयोजना र उद्योग व्यवसायमा काम गर्ने कर्मचारीहरुको पिसिआर परिक्षण आयोजना तथा उद्योगकै खर्चमा गर्ने व्यवस्था मिलाउने निर्णय भएको पाण्डेले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्