दाेलखा/अन्र्तराष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसको अवसरमा आज दोलखा सदरमुकाम चरिकोटमा सञ्चारकर्मी तथा अभियानकर्मी महिलाहरु बिच सूचना अधिकार र कार्यन्वयनको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजनाले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका पुर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्केले सूचना अधिकार र कार्यन्वयनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा वहाँले सञ्चारकर्मीहरुले रिर्पोटिङ गरे पनि सूचना अधिकारका बारेमा पैरवी गर्ने र सूचना अधिकार अनुसार प्रक्रियागत रुपमा सूचना माग गर्ने महिला अभियानकर्मीहरु कम भएकोले सूचना अधिकारको अभियानमा लाग्न महिला सञ्चारकर्मीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष मन्दिरा थापाले सार्वजनिक निकायले राम्रो कामको प्रचार गर्ने तर कमजोरीहरु लुकाउँने भएकोले लुकेका कमजोरी खोजी गर्नका लागि सूचना अधिकार महत्वपुर्ण औजार भएकोले यसको प्रयोग बढाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका सचिव तथा रेडियो शैलुङ सामुदायिक एफएमका स्टेसन म्यानेजर विनिता शिवाकोटीले सार्वजनिक निकायले हरेक त्रैमासिक रुपमा सार्वजनिक गर्नु पर्ने सूचनाहरु सार्वजनिक गर्नु पर्ने भए पनि दोलखाका सार्वजनिक निकायले सूचना सार्वजनिक नगर्ने गरेको बताउँनु भयो । सो अवसरमा शिवाकोटीले जिल्लाका सार्वजनिक निकायका प्रमुख तथा सूचना अधिकारी, सञ्चारकर्मी र अभियानकर्मी बिच सूचना अधिकारका बारेमा संयुक्त अन्तरक्रिया हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सञ्चारिका समुह बागमती प्रदेश सदस्य गायत्री आचार्यले जिल्लाका स्थानीय तहहरुले सहज रुपमा सूचना नदिने गरेको बताउँनु हुँदै सूचना अधिकारका लागि थप पैरवी अभियान आवश्यक रहेको बताउँनु भयो ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका परियोजना संयोजक शेरबहादुर भुजेलले सूचना अधिकारको अभियानमा महिला अभियानकर्मीलाई सहभागी हुन आग्रह गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी धेरै जसो सञ्चारकर्मी महिलाहरुले पुरुषको तुलनामा महिला सञ्चारकर्मी तथा अभियानकर्मीलाई सूचनाको पहुँच कम हुने गरेको उल्लेख गर्दै सूचना अधिकारका लागि अभियानकर्मी महिलाहरुले पनि पैरवी गर्नु पर्नेमा जोड दिएका थिए । सूचना माग गर्दा पनि कतिपय अवस्थामा पुरुषको तुलनामा महिलालाई ढिलो सूचना उपलब्ध गराउने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्