दोलखा/दोलखाको बोचमा उत्पादन हुने खुकुरी राजा त्रिभुवनले पनि मनपराएको भन्ने किस्सा धेरैले भुलेको भएपनि स्थानीय अर्जुन बहादुर विश्वकर्मा र भीमसेन विश्वकर्माले भने अहिले पनि खुकुरी बनाउने पेशालाईनै निरन्तरता दिईरहेका छन् ।
हामीले बराजेको पालादेखीको खुकुरी बनाउने पेशालाई निरन्तरता दिईरहेका छौ, दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर– ८ बोचका स्थानीय अर्जुन बहादुर विश्वकर्माले भने– तर अहिले यो पेशा क्रमशः लोप हुदै गएको छ ।
आफ्नो बराजे सिंहे विश्वकर्माले बनाएको खुकुरी राजा त्रिभुवनले समेत मनपराएपछि नेपाल भरी बोचको खुकुरी भनेर चर्चा भएको र त्यतिबेला यो पेशा निक्कै फस्टाएको अर्जुन बहादुरको भनाई छ ।
हाम्रा बराजे सिंहे विश्वकर्माले त्यो बेला खुकुरी बनाएर दरवार लगेका रहेछन् अर्जुन बहादुरले उतिबेलाको किस्सा सुनाउदै भने– दरवार लगिएको उक्त खुकुरीको धारमा पानी भिजाएको रुमाल माथिबाट खसाउदा दुई टुक्रा भएपछि राजा त्रिभुवनले बोचको खुकुरी मनपराए ।
अर्जुन बहादुरको बराजेले सुरु गरेको खुकुरी बनाउने पेशा उनको जिजुबाजे कमल वीर विश्वकर्मा, बाजे चर्तुमान विश्वकर्मा, बुबा छत्रलाल विश्वकर्मा हुदै उनको पालासम्म निरन्तर चलिरहेको छ ।
बराजे, जिजुबाजे र बाजेको पालासम्म खुकुरी बनाउन रामेछापको ठोसेमा रहेको फलाम खानीकै फलाम प्रयोग हुने गरेको भएपनि बुबाको पालादेखी भने काठमाडौँबाट आउने फलाम प्रयोग हुन थालेको अर्जुन बहादुर बताउछन् ।
अहिलेसम्म भाइ र गाउँका केही साथिहरुसंग मिलेर बराजेको पालादेखीको खुकुरी बनाउने पेशालाई निरन्तरता दिईरहेको छु, अर्जुन बहादुरले भने– नयाँ पुस्ताले यो पेशामा रुची नदेखाएको र खुकुरीले बजार समेत पाउन छोडेकोले अब भने यसले निरन्तरता पाउदैनकी भन्ने शङ्का छ ।

बुबा छत्रलालको पालासम्म बोचको खुकुरीको बजार निक्कै राम्रो रहेको अर्जुन बहादुर बताउछन् । बुबाको पालसम्म गाउँका सबै मिलेर खुकुरी बनाउने र काठमाडौँमा एकपटकमा ५ सय वटासम्म खुकुरी बिक्रिगर्न लाने गरेको उनी बताउछन् । त्यो बेला खुकुरीको साईज हेरेर दुई रुपैयासम्ममा बिक्रि हुने गरेको र धेरै खुकुरी नेपाली सेनाले किन्ने गरेको उनको भनाई छ ।
खुकुरी राम्रो हुन धार, दाप र बिड राम्रो हुनुपर्ने अर्जुन बहादुर बताउछन् । यो सबैकुरा बोचको खुकुरीमा पाउन सकिने उनको भनाई छ । खुकुरीको दापको लागि पैँयु, उतिस आदिको काठ प्रयोग हुने र बिडको लागि गुँरास, सतिसाल, सिसौ आदिको काठ प्रयोग गर्नुपर्ने उनी बताउछन् ।
आफुले भाइ भीमसेन र गाउँका केही साथिहरुसंग मिलेर अहिलेपनि बर्षमा २÷३ सयवटा खुकुरी उत्पादन तथा बिक्रि वितरण गर्दै आएको अर्जुन बहादुरले बताए । अहिले उनले ठूलो खुकरी एउटाको छ देखि १० हजारसम्म र सानो खुकरी २÷३ हजारमा बिक्रि गर्दै आएका छन् ।
स्थानीय कुमार लगुन बोचको खुकरी नेपाल भरीमै निक्कै गुणस्तरीय मानिने भएकोले यसको संरक्षणको लागि सीप हस्तान्तरण र बजारीकरणमा विशेषगरी स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउछन् ।


प्रतिक्रिया दिनुहोस्