बागमतीशिक्षा

१० लाख रुपैयाको शिवलिला आर्शीवाद अक्षय कोष

दोलखा/मकैवारी गाउँको सामाजिक अभियन्ता बुबा धनकाजी र आमाको नाममा पूर्व कर्णेल निरन्जन वस्नेतले स्थानीय कुटीडाँडा माध्यामिक विद्यालयमा १० लाख रुपैयाको शिवलिला आर्शीवाद अक्षय कोष स्थापना गरेका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ मकैवारी पूर्व कर्णेल निरन्जन वस्नेतको जन्मथलो हो । उनको बुबा धनकाजी तत्कालिन मकैवारी गाउँपञ्चायतको प्रधानपञ्च थिए । प्रधानमञ्चको रुपमा धनकाजीले मकैवारीमा विकास निर्माण, सामाजिक अभियान लगायतका धेरै राम्रा काम गरेको स्थानीय सम्झन्छन् ।

आफ्नो बुबा– आमाको नाममा स्थापना गरिएको शिवलिला आर्शीवाद अक्षय कोषले पूर्वज प्रतिको सम्मान र गाउँको विद्यालयलाई केही सहयोग पुग्ने पूर्व कर्णेल वस्नेत बताउछन् ।

कोषमा बंशबृक्षको ब्यक्तिबाट रकम थप गरिने छ भन्ने उल्लेख गरिएकोले शिवलिलाका अन्य सन्तानले पनि कोषमा रकम थप गर्न सक्ने र त्यसले विद्यालयलाई सहयोग पुग्ने वस्नेतले बताए ।

अक्षय कोषबाट प्राप्त ब्याज रकमले विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने शिवलिला आर्शीवाद अक्षय कोषका संस्थापक वस्नेतले बताए । सामाजिक उत्तरदायित्व अन्र्तगत वडा नम्बर– ७ का असहाय तथा जेष्ठ नागरिकलाई सहयोग गर्ने वस्नेतले प्रतिवद्धता व्यक्त गरेका छन् ।

विद्यालयमा स्थापना गरिएको शिवलिला आर्शीवाद अक्षय कोषले वडा नम्बर– ७ को शैक्षिक विकासमा टेवा पुग्ने वडा अध्यक्ष विनोद तमाङको भनाई छ । वडा अध्यक्ष तमाङ पूर्व कर्णेल निरन्जन वस्नेत परिवारले गरेको सहयोग वडा वासिको लागि सधै स्मरणीय रहने बताउछन् ।

वस्नेतले वडा अध्यक्ष तमाङको उपस्थितिमा अक्षय कोषको लागि विद्यालयलाई १० लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार