बागमतीसमाचारस्वास्थ्य

मदिरा निषेधित दोलखाको दुई गाउँ !

दोलखा/दोलखाका दुई गाँउ अहिले मदिरा निषेधित गाँउ बनेका छन् । स्थानीय सरकार र समुदायको सक्रियता पछि दोलखाको स्याँखु र पैयुस्वारा मदिरा निषेधित गाँउ बनेको सिविन नेपालका बिष्णु सुवेदीले बताए ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ४ मा पर्ने पैयुस्वारा र विगु गाउँपालिका वडा नम्बर– ५ मा पर्ने स्याँखुमा अहिले मदिरा पिउन, बिक्रिवितरण गर्न र अन्यत्रबाट मदिरा पिएर गाउँ प्रवेश गर्न निषेध गरिएको सुवेदीको भनाई छ ।

फोरुर्ट नर्वे, सिविन नेपाल र ग्रामिण विकास टुकी संघको साझेदारीमा दोलखाको कालिञ्चोक गाउँपालिकाको चार वटा वडा र विगु गाउँपालिकाको पाँच वटा वडामा सन् २००८ बाट परियोजना सुरु भएको थियो । सन् २०१५ बाट भने परियोजना अन्र्तगत ती वडाहरुमा ‘मदिरा न्युनिकरण कार्यक्रम’ सुरु भै समुदाय स्तरमा चेतनामूलक अभियान थालिएको र लगभग १० बर्षको अवधिमा दुईवटा गाउँमा मदिरा निषेध गर्न राम्रै सफलता मिलेको सुवेदीको भनाई छ ।

दुई पालिकाको अन्य वडाहरुमा पनि मदिरा नियन्त्रण र निषेध अभियान क्रमशः सफल हुदै गएको उनको भनाई छ ।

परियोजना अन्र्तगत दुई पालिकाको नौ वटा वडामा सन् २०१५ बाट मदिरा निषेधित अभियान सुरु गरिएकोमा कालिञ्चोक गाउँपालिका वडा नम्बर– ४ पैयुस्वारा र विगु गाउँपालिका वडा नम्बर– ५ स्याँखुमा करिब तीन बर्ष अघिबाट मदिरा निषेध अभियान सफल भएको सुवेदीको भनाई छ ।

करिब एक सय ३३ घर धुरी रहेको र निवार तथा मगरको बाहुल्यता भएको स्याँखुमा धेरैले स्थानीय मदिरा उत्पादनको लागि भट्टी सञ्चालन गरेका थिए । अभियान सुरु भएपछि उनीहरुले ती भट्टीहरु हटाएर गाउँलाईनै मदिरा निषेधित बनाएका छन् । स्थानीय स्तरमा मदिरा पसल सञ्चालन गर्दै आएकी लिला मगर मदिरा निषेधित अभियान सुरु भएपछि आफुले पसलै बन्द गरिदिएको बताउछिन् ।

कानुनी रुपमा लाईसेन्स लिएरै मदिरा पसल सञ्चालन गरेको थिए, तर मलाई पैसा भन्दा मानिसको स्वास्थ्य ठूलो लागेर लाईसेन्स खारेज गरी पसल बन्द गरिदिए– लिलाले भनिन् । अहिले आफु मासु र तरकारी बिक्रि– वितरणमा लागेको लिलाले बताईन ।

करिब ३९ घरधुरी रहेको र क्षेत्रि– बाहुनको बाहुल्यता भएको पैयुस्वारामा मदिरा बिक्रि– वितरण हुदै आएकोमा अभियान सञ्चालन पछि गाउँ पूर्ण रुपमा मदिरा निषेधित भएको छ । सुरु– सुरुमा आफै मदिरा समेत सेवन गर्ने स्थानीय गोमा थामी परियोजनाको चेतनामूलक अभियान पछि कुरा बुझेर रक्सी बनाउने भाँडानै बेचिदिएको बताउछिन् ।

सिविन नेपालले कार्यक्रम प्रभावकारी भएपछि जनप्रतिनिधि, स्थानीय र कार्यक्रम सञ्चालक संस्थाको समेत अनुभव समेटेर ‘मदिरा र समाज’ नामको पुस्तक समेत प्रकाशन गरेको छ । सिविन नेपालका सामाजिक परिचालक केशब बुढाथोकी मदिरा निषेधित अभियानको लागि परियोजना र पुस्तक दुबै प्रभावकारी बनेको बताउछन् ।

सम्बन्धित समाचार