राजनीतिसमाचारसुचना

निर्वाचन फागुन २१ मै– मन्त्री खरेल

दोलखा/सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले तोकिएकै मिति फागुन २१ मा निर्वाचन हुने बताउनु भएको छ । राजनीतिक दलहरु पनि तयार छन्, निर्वाचन आयोगले पनि सबै तयारी गरिसकेको छ त्यसैले तोकिएकै मितिमा निर्वाचन हुनेकुरामा कुनै आशङ्का छैन– मन्त्री खरेलले भन्नु भयो ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै सञ्चार मन्त्री खरेलले मतदाता नामावलिमा नाम दर्ता गर्ने काम उत्सवको रुपमा अघि बढेको समेत बताउनु भयो । मन्त्री खरेलले भन्नु भयो– मतदाता नामावलिमा नाम दर्ता गर्नेकाम उत्सवको रुपमा अघि बढेको छ, आठ लाख भन्दा बढी मतदाता थपिएका छन् ।

मन्त्री खरेलले कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्न नभनेको र सरकार सुरक्षाको लागि सहयोगी रहेकोले निर्वाचन हुने कुरामा कुनै आशङ्का नरहेको बताउनु भयो ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दोलखा आउनु भएका मन्त्री खरेल स्वागत तथा सम्मानबाट उत्साहित बन्नु भएको थियो । उहाँले दोलखाको विकासको लागि पर्यटनको विकास महत्वपूर्ण रहेको उल्लेख गर्नुहुदै यसको नेतृत्व स्वतन्त्र संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघले लिनुपर्ने बताउनु भएको थियो ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रमु जिरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, जिल्ला सचिव सुजन काफ्ले लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

आईतवार गृहजिल्ला दोलखा आउनु भएका मन्त्री खरेलले जिल्ला स्थित कार्यालय प्रमुखहरुसंग भेटघाट गर्नु भएको थियो । मन्त्री खरेल आफुले अध्यन गरेको दोलखाको कालिञ्चोक गाउँपालिका स्थित कालिनाग माध्यामिक विद्यालय सुनखानीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा समेत सहभागि हुनु भएको थियो ।

सम्बन्धित समाचार