बागमतीसमाचार

भीमेश्वर नगरमा असल अभ्यास आदान– प्रदान

दोलखा/अष्ट्रेलियन सरकार र द एशिया फाउण्डेशनको सहयोगमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रमको सहकार्यमा दोलखाको भीमेश्वर नगरपालिकाले अन्तर नगरपालिका स्तरीय असल अभ्यास आदान– प्रदान कार्यक्रम आयोजना गरेको छ ।

सदरमुकाम चरिकोटमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन बागमति प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बाँनियाले गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै मुख्यमन्त्री बाँनियाले आफु नेतृत्वको प्रदेश सरकारले जनतालाई न्याय, शान्ति र विकासको अनुभूती हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । राजनीति व्यापार नभै सेवा भएकोले आफुले न्यायको पक्षमा काम गर्ने उनको भनाई छ ।

भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख कमला वस्नेतले भीमेश्वर नगरपालिकाले बिभिन्न क्षेत्रमा गरेका कामको बारेमा जानकारी गराउनु भएको थियो ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाल, बागमति प्रदेशका बन तथा बातावरण मन्त्री भरत बहादुर केसी, प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुङगाना, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डे, जनकपुर उप महानगरपालिकाका प्रमुख मनोज शाह, वीरेन्द्र नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, डेभलपमेन्ट प्लानका प्रमुख डाईनजोन्स वर्मा, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शुक्रवारसम्म सञ्चालन हुने कार्यक्रममा दोलखाका नौ वटा पालिका तथा कोशी प्रदेशको दमक नगरपालिका, मधेश प्रदेशको मिथिला नगरपालिका, गण्डकी प्रदेशको वालिङ नगरपालिका र गल्याङ नगरपालिका, लुम्बिनी प्रदेशको तानसेन नगरपालिका, कर्णाली प्रदेशको विरेन्द्र नगरपालिका र सुदूरपश्चिम प्रदेशको टिकापुर नगरपालिका र भजनी नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागीता रहेको जनाईएको छ । कार्यक्रममा स्थानीय तहहरुले गरेका उत्कृष्ट कार्यहरुको बारेमा छलफल गरिने र भीमेश्वर नगरपालिकाले गरेका केही कामहरुको स्थलगत अवलोक समेत गराईने नगरप्रमुख इश्वर नारायण मानन्धरले बताउनु भयो ।

सम्बन्धित समाचार