दोलखा/दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणको लागि गएको १५ जनाको टोलि मध्य ३ जना विदेशी आरोहिको मृत्यु भएको र ८ जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । चार जना घाईते भएको स्थानीय प्रशासनको भनाई छ ।
रोल्वालिङ क्षेत्रमा पर्ने ना गाँउका स्थानीयले भने हिमपहिरोमा परी ४ विदेशी सहित ५ जनाको मृत्यु भएको आशंका गरेका छन् । ६ जना बेपत्ता भएको उनीहरुको भनाई छ ।
मृतक तीन जना मध्य फ्रान्सका आरोहि क्यारोल फुचसको मात्र नाम खुलेको स्थानीय प्रशासनले जनाएको छ । अन्य दुई जनाको नाम नखुलेको बताईन्छ । बेपत्ता मध्य नेपाली गाईड पदम तमाङ, इटलिका पाउलो कोको र क्यानेडियन नागरिक मार्कोस डि मार्सेलोसको मात्र पहिचान खुलेको छ । चार जना घाईते मध्य नेपाली गाईड निमाग्याल्जेन शेर्पाको मात्र पहिचान खुलेको स्थानीय प्रशासनले जनाएको छ ।
उनीहरु गत कार्तिक ११ गते आरोहणको लागि दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल तर्फ गएका थिए । सोमवार विहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि प्रस्थान गरेको उक्त टोलि विहान ८ बजेतिर यलुङ रि हिमालको चुचुरोमा पुग्ने क्रममा हिमपहिरोमा परेका थिए ।
गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष निमगेली शेर्पा आफुले यलुङ रि हिमाल आरोहणको क्रममा ४ जना विदेशी सहित ५ जनाको मृत्यु भएको र ६ जना बेपत्ता भएको खबर पाएको र त्यसबारे थप जानकारी लिने प्रयास गरिरहेको बताउछन् ।
आरोहण टिममा दुई÷तीन वटा ग्रुप रहेको बुझिएको छ । एउटा ग्रुपमा दुई जना विदेशी सहित चार जना रहेको र उनीहरु यलुङ रि हिमाल आरोहण लगतै ६ हजार मिटर माथिको रोल्वालिङ क्षेत्रमै पर्ने डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको बुझिएको छ । डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको दुई जना भने ना गाँउमा बसेको स्थानीयले बताए ।
उनीहरु बेपत्ता भएको खबर ना गाँउमा १० बजेतिर थाहा भएको र लगतै उद्दारको लागि हेलिकप्टर मगाईएको भएपनि कानुनी प्रकृया पुरा गर्दा ४/५ घण्टासम्म पनि हेलिकप्टर आउने अवस्था नभएको बेपत्ता आरोहिका साथीहरुले गुनासो गरे । खोज तथा उद्दारको लागि हेलिकप्टर ढिला आएकोले ना गाँउबाट हेलिकप्टर मार्फत तीन टोलि खोजिको लागि यलुङ रि पठाईएको र घाईतेको उद्दार मंगलवार विहानमात्र सम्भव हुने ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताए । अहिले हेलिकप्टर ना गाँउमानै रहेको उनले बताए ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले यलुङ रि हिमाल आराहणको क्रममा १५ जना मध्य ८ जना बेपत्ता भएको र तीन जनाको मृत्यु भएको खबर प्राप्त भएको र उनीहरुको खोजि तथा उद्दारको प्रयास भै रहेको बताए ।
बेपत्ताको खोजि र घाईतेको उद्दारको लागि सोमवार दिउँसो लामाबगरबाट नेपाली सेनाको ३५ जना, सशस्त्र प्रहरी बलको १० जना र नेपाल प्रहरीको ५ जनाको टोलि यलुङ रि हिमाल क्षेत्रमा गएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्