दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ मा पर्ने लामाबगर– लप्ची सडक खण्डको देउराली भन्ने ठाँउमा मंगलवार विहान सुख्खा पहिरो गएर सडक अवरुद्ध भएपछि लुमनाङमा रोकिएका चार जना विदेशी पर्यटकको विहिवार विहान उद्धार भएको छ ।
स्थानीय प्रशासनको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नासा हाईड्रो पावरका कर्मचारीहरुले उनीहरलाई पहिरो गएको ठाँउबाटै उद्धार गरेर लामाबगर पठाएको नासा हाईड्रो पावरका प्रशासन प्रमुख हेमराज तमाङले बताए ।
देउरालीमा सुख्खा पहिरो गएर सडक अवरुद्ध भएपछि विदेशी पर्यटकहरु रसियाका एलना सकारबुओ (पासर्पोट नम्बर– ७७२९४४३५) र पावेल ससकिन (पासर्पोट नम्बर– ७६७७५२३८२) तथा स्वीटरजरल्याण्डका योलिया सोसिडोभा (पासर्पोट नम्बर– ह्इप्९१ह्६३) र टेमोफी डेनिसोभ (पासर्पोट नम्बर– ह्इन्८३व्इ७) दुई दिन देखि लुमनाङमा रोकिएका थिए ।
उनीहरुलाई बुधवारनै उद्धार गर्ने प्रयास गरिएको भएपनि हेलिकप्टरको अभावका कारण सम्भव भएको थिएन । विहिवार भने विहानै उनीहरु लुमनाङबाट देउराली तर्फ पैदलै झरेका थिए । विहिवार साँझ ७ बजे उनीहरुको आफ्नो देश फर्कने टिकट भएकोले सबैको सहयोगमा उनीहरु जोखिम मोलेरै विहिवार विहान पैदलै लामाबगरसम्म आएका हुन् ।
देउराली पहिरो स्थलबाट उद्धार गरेपछि उनीहरु सवारी साधन मार्फत दिउँसो २ बजे चरिकोट आईपुगेको र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी काठमाडौँ गएको प्रमुख जिल्ला अधिकारी भोला दहालले बताए । विहिवार उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी गरिएकोमा उनीहरु विहानै लुमनाङबाट पैदलनै झरेकोले देउराली पहिरो स्थलबाट सबैको सहयोगमा उद्धार गरि सवारी साधन मार्फत काठमाडौँ पठाईएको प्रमुख जिल्ला अधिकारी दहालले बताए ।
चार विदेशी सुरक्षित काठमाडौँ आएर आफ्नो देश फर्कने तयारीमा रहेको उनीहरुको सम्पर्क व्यक्ति लप्चीका स्थानीय लाक्र्पा शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्