अन्तरास्ट्रियसमाचार

बेइजिङमा नेपाल- चीन सम्बन्ध बुझाउने पुस्तक सार्वजनिक

अजय अलौकिक

बेइजिङ, चीन/ नेपाल र चीनको सम्बन्धलाई चिनाउने ‘सुमधुर सम्बन्धका ७० साल’नामक पुस्तक चीनमा सार्वजनिक गरिएको छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासमा असोज ४ गते शनिबार चीनका लागि नेपाली राजदूत कृष्ण प्रसाद ओली र नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले संयुक्त रूपमा सो पुस्तक विमोचन गर्नुभएको हो।

नेपाल र चीन बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसर पारेर सो पुस्तक सार्वजनिक गरिएको हो। नेपाल र चीन बीच सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

नेपाली र चिनियाँ दुवै भाषामा प्रकाशित यो पुस्तक नेपाल चाइना मिडिया फोरमले प्रकाशन गरेको हो। विगत सात दशकको नेपाल चीन बीचको बहुआयमिक सम्बन्धलाई समेट्दै यो पुस्तकले दुई असल छिमेकी देश बीचको गहिरो मित्रता र आदानप्रदानलाई १२ वटा विषय सूचीमा लिपिबद्ध गरिएको छ। साथै, नेपाल चीन बीचका आदानप्रदान र विविध सहयोगका दुर्लभ तस्विर र तथ्याङ्कहरू पनि सो पुस्तकमा समावेश छन्।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत कृष्ण प्रसाद ओलीले चीन नेपाल बीचको सदाबहार सम्बन्धको चर्चा गर्दै दुई देश बीचको सम्बन्धमा सो पुस्तक कोशेढुङ्गा बनेको पनि बताउनुभयो। पुस्तक चीन नेपाल बीच भएका आदानप्रदान र सहयोगको दस्तावेज भएको पनि औँल्याउनुभयो।

विमोचित पुस्तक सम्बन्धमा तथा नेपाल चीन सम्बन्धमा कन्फ्युशियस इन्स्टिच्यूटका छिउ क्वोमिङ, स्यामन विश्वविद्यालयका प्रोफेसर च्याङ स्याओस्येन, अन्तर्राष्ट्रिय अर्थतन्त्र, व्यापार र सांस्कृतिकसहकार्यका लागि यूननान केन्द्रका उप महासचिव रनचकाङ तथा सीजीटीएन नेपाली सेवाका पूर्व कर्मचारी सु हाउले पनि आआफ्नो मन्तव्य राख्नुभएको थियो।

यसै गरी, नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले साथी फेर्न सकिने तर छिमेकी बदल्न नसकिने भन्दै छिमेकीको रूपमा चीन पाउनु वरदानसरह भएको बताउनुभयो। अध्यक्ष श्रेष्ठले दूरसञ्चारदेखि अस्पताल हुँदै विद्यालय, कृषि उत्पादन, राजमार्ग निर्माण र स्तरोन्नतिजस्ता भौतिक संरचनामा चिनियाँ सहयोग नेपालका लागि बरदान सावित भएको पुस्तकमा उल्लेख गरिएको बताउनुभयो। यस पुस्तकमार्फत हामी नेपाल चीन सम्बन्धका विविध आयाम अनि ७० वर्षका मीठा क्षणलाई स्मरण गर्न गइरहेका छौँ, श्रेष्ठले भन्नुभयो।

नेपाल चीन बीचको दौत्य सम्बन्धका मीठा क्षणहरूलाई समेटिएको पुस्तक विमोचन कार्यक्रममा चिनियाँ शुभचिन्तक, थिङ्कट्याङ्क तथा उद्यमीहरूको उपस्थिति थियो।

साभार- सीजीटीएन नेपाली सेवा

सम्बन्धित समाचार