मुख्य समाचारसमाचार

हाम्रो त संसारै उजाडियो !

काठमाडौँ/गत भदौ २४ गते मंगलवार जेन– जी प्रर्दशनको क्रममा संसद भवन बानेश्वर क्षेत्रमा गोली लागेर मृत्यु भएका दोलखा शैलुङ गाँउपालिका वडा नम्बर– ४ निगालेका अभिषेक चौलागाईको परिवार अहिले बिक्षिप्त बनेका छन् ।

कक्षा १२ पास गरेर भक्तपुर नयाँ ठिमिको चाणक्य मेनेजमेन्ट कलेजमा स्नातक तहमा अध्यन संगै रोजगारी समेत गर्दै आएका परिवारको एक्लो छोरो अभिषेकको प्रर्दशनको क्रममा गोली लागेर मृत्यु भएपछि मृतकका बुबा दिनेश चौलागाई र आमा रिता सुवेदी चौलागाई अहिले बिक्षिप्त बनेका छन् । हाम्रो संसारै उजाडियो मृतक अभिषेकका बुबा दिनेशले भने– अब कसरी मन बुझाउन सकिएला र !

जेन– जीले सरकारले गरिरहेको भ्रष्टाचार, अनियमितता, नातावाद– कृपावाद जस्ता सुशासन विरोधि गतिविधि विरुद्ध सोमवार गरेको प्रर्दशनमा १९ जनाको मृत्यु भएपछि मंगलवारको प्रर्दशनमा अभिषेक पनि सहभागि भएका थिए । संसद भवन बानेश्वरमा भएको प्रर्दशनमा उनलाई गोली लागेको हो । गोली लागेपछि अभिषेकलाई तत्काल साथिहरुले उद्दार गरेर अस्पताल पु¥याएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

अभिषेकको भदौ २४ गते मंगलवारनै मृत्यु भएपनि परिवारले भदौ २६ गते विहिवारमात्र बानेश्वरकै सिभिल अस्पतालमा मृत्यु भएको जानकारी पाएका थिए ।

दिनेश चौलागाईको एक छोरा र एक छोरी मध्य अभिषेक जेठा छोरा हुन् । विगत ७/८ बर्ष देखि बुबा– आमासंगै भक्तपुरको दुवाकोटमा बसेर अध्यन गरिरहेका अभिषेक मेहेनती र इमान्दार थिए । पढेर ठुलो मानिस भएपछि परिवारको लागि धेरै काम गर्छु भन्थ्यो तर देशको लागि गोली खाएर सहिद भयो– भकानिदै बुबा दिनेशले भने ।

अभिषेकलाई गोली लागेपछि साथीहरुले उद्दार गर्ने क्रममा उसको मोवाईल, परिचयपत्र लगायतका सामग्री संगैका एकजनालाई राख्न दिएको तर ती साथीसंग फोन सम्पर्क हुन नसक्दा उसको ती सामग्रीहरु समेत पाउन नसकिएको मृतक अभिषेकका काका बिनोद चौलागाईले बताए ।

उद्दार गर्नेक्रममा अभिषेकको सामग्री राख्ने साथीले फोन नम्बर ९८४११५७५४० वा ९८४१५२९१५४ मा सम्पर्क गरी ती सामग्री उपलब्ध गराईदिए उसको अन्तिम निसानी बाबु– आमाले पाउन सक्ने काका बिनोद बताउछन् ।

जेन– जी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारले राज्यको तर्फबाट केही सम्बोधन नगरी सव नबुझने अडान राखेकोले अभिषेकको सव समेत परिवारले नबुझेको काका बिनोदले बताए ।

सम्बन्धित समाचार