काठमाण्डौ/नेपाल– चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० बर्ष पुगेको अवसरमा फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले मंगलवार ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण– एक कोशेढुङ्गा’ विषयमा छलफल आयोजना गरेको छ ।
सो अवसरमा कार्यक्रमका सहभागिहरुले शांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) सम्मेलनमा चीन, भारत, रुस लगायतका शक्तिशालि राष्ट्रका प्रमुखहरु संगै प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता महत्वपूर्ण कोशेढुङ्गा सावित भएको बताएका छन् ।
कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै द्वन्द्व विज्ञ डा. बिष्णुराज उप्रेतीले विश्वका शक्तिराष्ट्रहरु सहभागि कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थित आफैमा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको बताए । उनले भने– चीनका महामहिम राष्ट्रपति सि जिन फिङसंगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको भूमिको प्रयोग गरेर भारत र चीन बीच भएको ब्यापारीक सहमति प्रति आपत्ति जनाउनु महत्वपूर्ण विषय हो ।
द्वन्द्व विज्ञ डा. उप्रेतीले नेपाल एक चीन नीतिमा अडिग रहेको सन्र्दभमा चीन पनि नेपालको सार्वभौमसत्ता रक्षाको विषयमा सहयोगी बन्नु पर्ने बताए । उनले नेपालको भूमि प्रयोग गरेर भारतसंग भएको व्यापारीक सहमतिको विषयमा चीनले करेक्सन गर्ने अपेक्षा लिन सकिने बताए ।
अन्तराष्ट्रिय विषयका विज्ञ पत्रकार गोपाल खनालले शांघाई कोअपरेशन अर्गनाईजेशन (एससीओ) सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सदस्य उन्मुख डाईलग पार्टनरको रुपमा सहभागि हुनु र सम्मेलनमा मन्तव्यको क्रममा र चीनका महामहिम राष्ट्रपति सि जिन फिङसंगको भेटमा एससीओको सदस्य बन्न प्रस्ताव राख्नु आफैमा महत्वपूर्ण कोशेढुङ्गा रहेको बताए ।

कार्यक्रमका सभापति फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष शोभित उप्रेतीले झण्डै सात सय बर्ष पछि विश्वको पावर एसियामा फर्कनु महत्वपूर्ण रहेको उल्लेख गर्दैै नेपालले दुई ठूला राष्ट्रहरु चीन र भारतसंग समान सम्बन्ध बनाएर फाईदा लिनसक्नुपर्ने बताए ।
कार्यक्रममा अष्ट्रेलियाका लागि पूर्व राजदूत महेश दहाल र जापानका लागि पूर्व राजदूत डा. बिष्णुहरि नेपालले चीनमा पुगेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले महामहि राष्ट्रपति सि जिन फिङसंगको भेटमा लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालको भू– भाग रहेको विषय उठाउनु महत्वपूर्ण कोशेढुङ्गा सावित भएको उल्लेख गर्दै यसमा सबै नेपालीले गौरव गर्नुपर्ने बताए ।
कार्यक्रममा अन्तराष्ट्रय क्षेत्रका विज्ञ, राजनीतिज्ञ, पत्रकार, युवा– विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्