बागमतीयो पनिसमाचार

सचेतना कार्यक्रम पछि सवारी दुर्घटनामा कमी

दोलखा/जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले ट्राफिक सचेतनाको लागि स्कूल कार्यक्रम सञ्चालन गर्न थालेपछि सडक दुर्घटनामा कमी आएको ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराईले बताउनु भयो ।

दोलखा जिल्लाको बिभिन्न ठाँउमा हुने सडक दुर्घटनाको मुख्य कारणहरु मध्य ट्राफिक सचेतनाको अभाव पनि देखिएकोले आफु जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको प्रमुख भएर आएपछि ट्राफिक सचेतनाको लागि स्कूल कार्यक्रम सञ्चालन गरेको र त्यो निक्कै प्रभावकारी देखिएको प्रहरी सहायक निरीक्षक भट्टराईको भनाई छ ।

दोलखामा ट्राफिक सचेतना कार्यक्रम विद्यालयहरुबाट सुरु गरी कलेज तथा सार्वजनिक सवारी साधनका चालक– सहचालकसम्म विस्तार गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक भट्टराईले बताउनु भयो । अब यो कार्यक्रम सरकारी एवम् गैर– सरकारी कार्यालय र समुदाय स्तरसम्म विस्तार गर्ने योजना रहेको भट्टराईको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले २०८२ साल बैशाखबाट सुरु गरेको ट्राफिक सचेतनाको लागि स्कूल कार्यक्रम निरन्तर चलिरहेको जनाएको छ । हालसम्म दोलखाको भीमेश्वर नगरपालिका र मेलुङ, शैलुङ, बैतेश्वर एवम् तामाकोशी गाँउपालिकाको सामुदायीक तथा संस्थागत गरी ५७ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक तथा विद्यालयका सवारी चालक गरी सात हजार नौ सय ९२ जना लाभान्वित भएको ट्राफिक प्रमुख भट्टराईले बताउनु भयो ।

कार्यक्रममा सहभागिहरुलाई सडक प्रयोग गर्दा, सवारी साधनमा यात्रा गर्दा, सवारी चलाउदा ध्यान दिनुपर्ने कुरा, ट्राफिक सङ्केतहरुको बारेमा जानकारी, प्राथामिकता दिनुपर्ने सवारीका साधन, दुर्घटना भएको देखिएमा के गर्ने जस्ता विषयमा जानकारी गराईएको भट्टराईको भनाई छ ।

दोलखा जिल्लामा आर्थिक बर्ष २०८०/०८१ मा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु र ९९ जना घाईते भएकोमा सचेतना कार्यक्रम सुरु भएपछि आर्थिक बर्ष २०८१/०८२ मा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु र ८१ जना घाईते भएको ट्राफिक प्रमुख भट्टराईले बताउनु भयो । यो तथ्याङ्क हेर्दा सचेतना कार्यक्रम पछि सवारी दुर्घटनाबाट हुने क्षतिमा क्रमशः कमी हुदै आएको देखिएको भट्टराईको भनाई छ ।

भीमेश्वर नगरपालिका चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दावा लामा पनि दोलखामा ट्राफिक सचेतना कार्यक्रम निक्कै प्रभावकारी देखिएको र यसले सवारी दुर्घटनाबाट हुने क्षतिमा कमी आएको बताउनु हुन्छ ।

जिल्ला ट्राफिक कार्यालय दोलखाले सुरु गरेको ट्राफिक सचेतनाको लागि स्कूल कार्यक्रममा म पनि धेरै ठाँउमा पुगे टोल सुधार समितिका अध्यक्ष लामाले भन्नु भयो– विद्यार्थी, अभिभावक, शिक्षक, सवारी चालक लगायतलाई ट्राफिक सचेतनाको बारेमा जानकारी दिनु निक्कै उपलब्धि मूलक हुने रहेछ । अहिले समुदायका हरेक मानिसले मोटरसाईकल र साना सवारीका साधन प्रयोग गर्ने भएकोले पनि ट्राफिक सचेतना कार्यक्रम आवश्यक रहेको लामाको भनाई छ ।

सम्बन्धित समाचार