अन्तरास्ट्रियसमाचार

दोलखा समाज जापानको एक करोडको कल्याणकारी कोष

जापान/दोलखा समाज जापानले एक करोड रुपैयाको कल्याणकारी अक्षयकोष स्थापना गरेको छ । दोलखा जिल्लाबाट अध्यन, काम र व्यवसायको लागि जापान पुगेका दोलखालीहरुले स्थापना गरेको दोलखा समाज जापानले सामाजिक दायित्वलाई संस्थागत गर्ने उदेश्यले कल्याणकारी अक्षयकोष स्थापना गरेको समाजका अध्यक्ष सञ्जीव पोखरेलले बताउनु भयो ।

दोलखा समाज जापानको हालै ओसाकामा सम्पन्न विशेष बैठकले कोष स्थापनाको घोषणा गर्दै त्यसबाट आर्थिक, सामाजिक तथा आपतकालिन अवस्थामा रहेका दोलखालीहरुलाई सहयोग गर्ने घोषणा गरेको छ ।

दोलखा समाज जापानले स्थापना गरेको कोषबाट दोलखालीमात्र नभै जापानमा रहेका अन्य नेपालीहरुलाई समेत आवश्यक भएमा राहत, उपचार र सङ्कट व्यवस्थापनमा सहयोग गर्न सकिने समाजका अध्यक्ष पोखरेलले बताउनु भयो ।

कोष स्थापनाको लागि दोलखा समाज जापानका अध्यक्ष सञ्जीव पोखरेलले पाँच लाख जापानी यन सहयोग गर्नु भएको छ । त्यसैगरी दोलखा समाज जापानका संस्थापक अध्यक्ष नवराज थापाले बैबाहिक बर्षगाठको अवसरमा १० बर्षसम्म प्रत्येक बर्ष एकलाखको दरले कोषमा रकम जम्मा गर्ने प्रतिवद्धता जनाउनु भएको छ । त्यसैगरी समाजका सचिव तिलकराज खतिवडाले कोषमा ५० हजार यन सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष पोखरेलले बताउनु भयो ।

दोलखा समाज जापानले बिभिन्न अवसरमा सामाजिक, सांस्कृतिक र आपतकालिन सहयोग कार्यक्रम गर्दै आएको अध्यक्ष पोखरेलले बताउनु भयो । समाजले २०७२ सालको विनाशकारी भुकम्प र कोरोना महामारीको समयमा पनि दोलखाली लगायत नेपालीहरुलाई आर्थिक सहयोग गरेको अध्यक्ष पोखरेलले बताउनु भयो ।

सम्बन्धित समाचार