दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ को दुर्गम रिकु गाँउमा अहिले लामाबगरबाट पैदलमार्ग जोडिएको छ । दोलखाकै विगु गाँउपालिका वडा नम्बर– १ लामाबगरबाट चिम्लिङको भीर कोपेर बनाईएको पैदलमार्गले रिकु जोडिएपछि अहिले स्थानीयलाई आवत– जावत र किनमेलमा समेत सहज भएको छ ।
तर, लामाबगर– रिकु पैदलमार्ग निर्माणमा मजदुरी गरेका रिकुका स्थानीय ६४ बर्षिय नेत्र बहादुर खड्काले भने आफ्नो दुईवटा औला गुमाएका छन् । भीर कोपेर पैदलमार्ग बनाउन तामाकोशी पारीबाट आवश्यक सामान ल्याउन प्रयोग गरिएको तुईन तान्ने काम गरिरहेका खड्काले त्यहि तुईन तान्ने क्रममा दुर्घटनामा परी दुईवटा औला गुमाएका हुन् ।
दैनिक १२ सय रुपैया ज्यालादारीमा जोखिम मोलेर भीरमा तुईन तान्ने काम गर्दै आएका खड्काले २०८१ साल फागुनमा तुईन दुर्घटनामा परी दुईवटा औला गुमाएका थिए ।
यो उमेरमा दुईवटा औला काट्नुपर्दा दुःख त लागेको छ तर, हामीजस्ता मजदुरले ज्यान जोखिममा राखेर भीरमा बाटो बनाएकोले अब रिकुका आफन्त र छिमेकीलाई आवत– जावत र किनमेलमा सहज हुने भएकोले धेरै तनाव लिएको छैन– स्थानीय नेत्र बहादुर खड्काले भने । २१ सय मिटरको उँचाईमा रहेको रिकु गाँउमा २२ घर धुरी रहेको छ । लामाबगर– रिकु पैदलमार्ग निर्माण भएपछि रोल्वालिङ खोला जलविद्युत आयोजनाको अडिट टनेल समेत बनिरहेको रिकु गाँउ च्छो– रोल्पा जाने पर्यटकको लागि समेत मुख्य गन्तव्य बनेको स्थानीय बताउछन् ।
तुईन तान्ने क्रममा दुर्घटना भएपछि तुईनको तारले नेत्र बहादुरको दुईवटा औलाको आधिभाग चुडिएको थियो । त्यतिबेला आफुले औला चुडिएको पीडा भन्दा पनि तत्काल अस्पताल पुगेर रगत रोक्न सके ज्यान बच्नेथियो भन्ने सोचेर हात माथि उठाएरै दोलखा अस्पतालमा उपचारको लागि पुगेको बताए ।

औला गुमाउनु अघि तुइन तान्ने काम गर्दै नेत्रबहादुर
उनलाई उपचारको लागि पैदलमार्ग निर्माणका ठेकेदारले सहयोग गरेको थियो । तर अहिले पनि चुडिएको औलामा समस्या हुने गरेको खड्काको भनाई छ । आर्थिक अभावले थप उपचार गर्न नसकेको उनले गुनासो गरे ।
पैदलमार्ग निर्माणको ठेकेदार इन्द्र बहादुर थामी खड्काको तत्काल उपचारको लागि अफुले सबै खर्च गरेको तर थप उपचारमा सहयोग गर्न सक्ने अवस्था भने नभएको बताउनु हुन्छ । भीरमा जोखिम मोलेर काम गर्नुपर्ने भएकोले सबै मजदुरको बिमा गरिएको तर नेत्र बहादुर खड्काको उमेर ६० बर्ष नाघेकोले बिमा हुन नसक्दा समस्या भएको ठेकेदार इन्द्र बहादुरको भनाई छ । तीन किलोमिटर पैदलमार्गमा झण्डै दुई किलोमिटर जोखिमपुर्ण भीर कोपने काम सकिएको भएपनि नेत्र बहादुर बाहेक अरु कसैलाई पनि समस्या नभएको ठेकेदार इन्द्र बहादुर बताउछन् ।
रोल्वालिङ खोला जलविद्युत आयोजनाको सहयोगमा हाई हिमालले पैदलमार्ग निर्माणको काम गरेकोले नेत्र बहादुर खड्कालाई अहिले हाई हिमालले घर नजिकै रिकु गाँउमा तुईन तान्ने काम नै दिएको छ ।
प्रतिक्रिया दिनुहोस्