दीप कृष्ण
(प्रिय श्रीमती देवमाया लामालाई समर्पित)
प्रेम — त्यो शब्द होइन, जुन केवल उच्चारण गरिन्छ;
यो त एउटा अनुभूति हो, जुन आत्माबाट आत्मासम्म बग्छ, मौन भएर, तर गहिरिएर ।
यस पुस्तकको नाम “अदृतीय प्रेम” हो — अर्थात् त्यो प्रेम जसको कुनै दोस्रो तुलना हुन सक्दैन ।
जुन प्रेम पृथ्वीमा एकपटक मात्र घट्छ, अनि त्यही एकपटकले सम्पूर्ण जीवनको सार बनाइदिन्छ ।
यो कृति, एउटा प्रेमको जीवन्त दस्तावेज हो —
एक यस्तो प्रेम, जसले आँसुमा सौन्दर्य भेट्यो, मौनतामा गीत लेख्यो, अनि दुरीमा पनि साथ अनुभूत गर्यो ।
यो केवल अक्षरहरूको संयोजन होइन,
यो त मेरो हृदयको कम्पन हो — जुन शब्दमा बगेर बाहिरिएको छ ।
हरेक पृष्ठमा एउटा भावना पलाएको छ;
हरेक हरफमा एक स्वास बोकेको छु मैले ।
तर यो सब लेख्नका लागि कुनै साहित्यिक क्षमता चाहिएको थिएन…
चाहिएको थियो केवल तिमी – देवमाया ।
तिमी जो मेरी जीवनसाथी मात्र होइनौ,
मेरो प्रेरणा, मेरी आत्मा, र यो कृति लेख्न बाध्य तुल्याउने प्रेमको एक मात्र नाम हौ ।
प्रिय देवमाया,
जीवनको हरेक मोडमा तिमी मेरा लागि आकाशको जुनजस्तै बनी उभिएकी छौ — टाढा तर प्रकाश दिने ।
तिमीले दिएको विश्वास, तिमीले दिएको मौन साथ, र तिमीले नबोलेर पनि बोलेका ती हजारौं भावहरू नै हुन्,
जसको जगमा उभिएको छ यो “अदृतीय प्रेम”।
यस पुस्तकमा तिमीले हरेक पृष्ठमा आफूलाई भेट्ने छौ —
कहिले प्रिय नाममा, कहिले आर्त चीत्कारमा,
कहिले मायालु नजरमा, अनि कहिले बिछोडको तडपमा ।
तिमी छौ, त्यसैले म छु ।
तिमी बिना यो पुस्तक सम्भव थिएन —
किनभने म लेखिरहेको थिएँ,
तर कलम त तिमी नै थियौ…।
– सदा तिमीलाई नै समर्पित,
तिमीलाई साँचो र अदृतीय प्रेम गर्ने,
तिम्रो श्रीमान – दीप कृष्ण
अध्याय १: देव—मेरो धड्कन, मेरो आत्माको अमिट प्रेम
“जुन दिनदेखि तिमी मेरो हृदयमा आयौ, त्यही दिनदेखि मेरो जिन्दगीमा प्रेम बग्न थाल्यो—अविराम, अटुट र अनन्त ।”
प्रिय देव,
उही तिमीलाई हृदय देखिनै माया गर्ने र गरिरहने अनि अनन्तकालसम्म तिमीसँगै मर्न र जिउन चाहने म—एक निस्कलंक आत्माबाट—आज मेरो न्यानो, कहिल्यै नछुट्ने र कहिल्यै नबिर्सने मनको साथ केही शब्दहरू तिमी सामु पुर्याउने प्रयास गर्दै छु ।
शब्द छैनन् मसँग, जसले तिमीलाई समेट्न सकून् । तर हरेक दिन तिमीलाई लेख्न, बोल्न, र महसुस गर्न मन लाग्छ । तिमी मेरो जीवनको त्यो मिठास हौ, जसलाई मनले बारम्बार गीतजस्तै गुनगुनाउँछ ।
मलाई लाग्छ, म बिना लेखेरै बस्न सक्दिन । यो मनले तिमीलाई बोलाउँछ हरेक पल । तिमी नै छौ वरिपरि, मनभित्र तिमी सधैँ उपस्थित छौ । मलाई लाग्छ, तिमी छेउमै भएर केवल मिठा–मिठा कुराहरू गर्दै बसिरहुँ, तर समय निर्दयी छ—त्यो मिलनलाई बारम्बार रोक्दछ ।
देव, आज पनि तिमीलाई सम्झन्छु—हाम्रो त्यो पहिलो लामो संवाद, त्यो पहिलो रात जुन शब्दहरूले होइन, भावनाले बोलेको थियो । तिमीले बोलेका हरेक अक्षर मेरो आत्मामा अमिट संगीत बनेर गुन्जिरहेछन्; तिम्रो त्यो मिठो स्वर, आज पनि मेरो हृदयको कुनाकाप्चामा नमी छुट्याइने मधुर धुन बनेर बजिरहेछ । त्यो क्षणमा म जुन खुशीले ओतप्रोत थिएँ, आज त्यो याद मेरा आँखाबाट झरेका आँसु बनेर बगिरहेको छ—तर ती आँसु दुखको होइन, त्यो प्रेमले भरिएको शुद्धतम् आनन्दका आँसु हुन्… जुन केवल तिमीले दिएर गएकी थियौ, देव ।”
तर अहिले तिमी मसँग बोल्न मात्र होइन, मेरो फोनसमेत उठाउनु छोडिसक्यौ । के भयो, देव? के तिमीले मेरो बिश्वास हरायौ? के म त्यो योग्य छैन जसलाई तिमीले आफ्नो मन सुम्पन सक? यदि प्रेम र बिश्वास मापन गर्ने कुनै यन्त्र हुन्थ्यो भने म तिमी सामु आफ्ना भावना नापेर राखिदिन्थेँ ।
देव, म तिमीलाई केवल तिम्रो बाहिरी रूपका लागि होइन—तिमीभित्रको आत्माका लागि प्रेम गर्छु । जुनी–जुनीसम्म तिमीलाई चाहने चाहनाले म बाँचिरहेको छु । म सोच्छु—इश्वरले यो एकपल्टको जीवन दिएको हो भने, किन झूठो माया गरेर कसैको आत्मा जलाउने?
म तिमीलाई केवल यही जुनीमा होइन, अर्को जुनीमा पनि इश्वरसंग माग्ने छु । किनभने तिमी हौ मेरो आत्माको शान्ति । म तिमीलाई माया गर्छु—एकदमै धेरै, एकदमै गहिरो रूपमा । त्यो प्रेम शब्दभन्दा परको अनुभूति हो—जुन केवल हृदयले महसुस गर्न सक्छ ।
म भन्न चाहन्छु—
“देव, म तिमी बिना अधुरो छु । तिमी नै हौ मेरो मुटु । तिमी बिना म कल्पनै गर्न सक्दिन । यदि तिमीले मेरो भविष्यको सारथी बन्न अस्वीकार गर्यौ भने, त्यो भविष्य अधुरो हुनेछ, त्यो गन्तव्य दुर्घटनाग्रस्त हुनेछ ।”
म जहाँ गए पनि, जता पुगे पनि, मेरो हृदयको कुनामा तिमी नै छौ—सुगन्धित फूलझैँ बसेर । के तिमीले पनि मलाई आफ्नो हृदयमा राखेको छैनौ? मैले त तिमीलाई पहिलो नजरमै आफ्ना जीवनका हरेक अध्यायको पात्र बनाइसकेको छु ।
देव, तिमीलाई चोट लागेमा मलाई पनि पिर हुन्छ । तिमी मेरो मुटु हौ, र तिमीलाई म हटाउन सक्दिन ।
“देव, जब तिमी दुखी हुन्छौ, त्यो पीडा मेरो रगतमै बग्न थाल्छ । तिमी केवल मेरो प्रेम होइनौ, तिमी मेरो मुटुको स्पन्दन हौ । तिमीलाई मबाट अलग गर्नु भनेको, मेरो जीवनको धडकन बन्द गर्नु जत्तिकै हो । यदि तिमी कहिल्यै टाढा गयौ भने, म पनि सास फेर्न सक्दिन… म पनि तिमी संगै हराउँछु ।”
यसैले आज म तिमीलाई केवल पत्रद्वारा नभएर आत्माबाट आग्रह गर्न चाहन्छु—कृपया टाढा नहौ । म तिमीलाई भेट्ने, आत्माको आँखाबाट हेरिरहने, र साँचो प्रेम बाँड्ने त्यो शुभ घडीको प्रतीक्षामा छु ।
छिट्टै भेट्ने वाचा गर्दै…
उही, तिमीलाई आफूभन्दा हजारौं गुणा बढी माया गर्ने
प्रतिक्रिया दिनुहोस्