दोलखा/गितकार, समाजसेवी एवम् एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेतीले दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलामा चढाउन ५२ केजीको घण्टा र उक्त घण्टा राख्न आवश्यक पर्ने सामग्री उपलब्ध गराउनु भएको छ ।
समाजसेवी उप्रेतीले ५२ केजीको उक्त घण्टा र आवश्यक सामग्री सङ्गितकार एवम् पत्रकार प्रविण प्रसाद थपलियालाई हस्तान्तरण गर्नु भएको छ । धार्मिक एवम पर्यटकीय केन्द्र शैलुङमा रहेको शैलुङ्गेश्र महादेव मन्दिर तथा भीमसेन शिला तरवारमा आगामी २०८२ बैशाख– १ गते हुने सामूहीक लघुरुद्रीको अवसरमा समाजसेवी शोभित उप्रेतीबाट प्राप्त घण्टा भीमसेन शिला तरवार रहेको स्थानमा राखिने पत्रकार थपलियाले बताउनु भयो ।

घण्टा हस्तान्तरणको अवसरमा समाजसेवी एवम् गितकार शोभित उप्रेतीलाई सामूहीक लघुरुद्री आयोजकको तर्फबाट सम्मान गरिएको थियो ।
किंवदन्ती अनुसार द्वापर युगमा भीमसेन शैलुङको बाटोहुदै नेपाल मण्डल प्रवेश गर्नेक्रममा चार हजार आठ सय मिटरको उँचाईमा रहेको शैलुङ डाँडामा तरवार (खड्ग) राखेर विश्राम गरेको र तरवार त्यहि छोडेका थिए । त्यस यता स्थानीयले भीमसेन शिला तरवारलाई पुजा गर्दै आएका छन् ।
बैशाख– १ गते हुने लघु रुद्री पुजामा शैलुङ्गेश्वर महादेव मन्दिरमा १३ जना र भीमसेन शिला तरवारमा २३ जना गरी ३६ जना पण्डीतहरुले पुजा गर्ने कार्यक्रम रहेको लघुरुद्री आयोजक समितिका संयोजक प्रबिण थपलियाको भनाई छ ।
यस अघि भीमा एकादशीको दिन गुुरुबा, आचाजुु लगायतबाट शैलुुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको पुजा समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्