अन्तरास्ट्रियकला / साहित्यबिचार / ब्लग

भारतीय नेपाली कथामा दुईवटा विश्वयुद्धकाे प्रभाव

डा. नकुल छेत्री

बीसौं शताब्दीका दुई महायुद्घले विश्वको इतिहासलाई नै तहसनहस बनाइदिएको छ । भनिन्छ, विश्वका अधिकांश शक्तिहरू विश्वयुद्घमा संलग्न भएका थिए भने ती युद्घका परिणाम संसारका सम्पूर्ण राष्ट्रहरूले प्रत्यक्ष या अप्रत्यक्षरुपमा भोगेका थिए । अतः ती युद्घका परिणामदेखि अलग्गै न कुनै राष्ट्रविशेष बस्नसके, न कुनै समाज नै । पहिलो विश्वयुद्घ (इ.१९१४—१९१८) पश्चात इंगलैण्डले स्वयम्लाई महाशक्तिको रूपमा परिचित गरायो भने, दोस्रो विश्वयुद्घ (इ.१९३९—१९४५) पश्चात इगंलैण्डको साटो अमेरिका महाशक्तिको रूपमा चिनिन थाल्यो । यी महायुद्घहरूका आर्थिक, सामाजिक अनि राजनीतिक परिणाम इतिहासका चिन्तनपरक बुँदाहरू हुन्, जसमाथि असङ्ख्य शोधकार्यहरू भइसके अनि भइरहेछ । तथापि यी युद्घहरूले विश्वसाहित्यलाई पनि प्रभावित पारेको यत्रतत्र उदाहरणहरू पाइन्छन् । हुनत, साहित्यकलाका फाँटमा सिर्जना र अनुसन्धानका नयाँ क्षेत्रहरू खुलिरहन्छन्। वर्तमान विश्वसाहित्यको परिप्रेक्ष्यमा डायसपोरा, पर्यावरण, साइबरजगत, एथ्निकलेखन जस्ता नौला विषयवस्तुहरूको आगमन हुनका साथै युद्धलेखन अर्थात् वार राइटिङ  पनि विश्वसाहित्यमा मौलाउँदै गइरहेछ ।

    युद्धको वर्णन अनि युद्धले उब्जाएका भय, त्रास, आतङ्क आदिबाट उत्पन्न शारीरिक तथा मानसिक विचलनका स्थितिहरूलाई लिएर नेपाली साहित्यमा कथाहरू लेखिनका साथै विगत तीन दशकदेखि कथाको समालोचना गर्ने अभिघात सिद्धान्त अर्थात् ट्रौमा थ्योरीको प्रचलन पनि भइरहेछ । अझ विश्वयुद्धबाट उत्पन्न भएका पूर्णाहुति (होलोकष्ट), आत्माहत्या (जोनोसाइड) आदिबाट बाँचेका पात्रहरूले गरेका बयान र आख्यानबाट नै अभिघात सिद्धान्त जन्मेको हो ।  यो सिद्धान्तको प्रतिपादन नभई नै ती प्रसङ्गहरू भने नेपाली कथामा प्रयुक्त भइसकेका थिए ।

    अँग्रेजी कविहरू रूपर्ट ब्रक, जुलियन ग्रीनफल, रबर्ट निकोल्स, चाल्र्लस सोरले, विलफ्रेड, ओवेन, आइजक, रोजेनवर्क, हवर्ड, रीउका, अर्नेष्ट, हेमिङ्गवे आदिले अँग्रेजी साहित्यमा कविताप्रतिको पुरातन मान्यतालाई त्यागेर युद्धका अनावश्यकता, भय, सन्त्रास, युद्धप्रति ब्यङ्ग्य, मानवताप्रति क्षोभ इत्यादि विषयवस्तुलाई प्रवेश गराए । मुलतः अँग्रेजी युवाकविहरूले विश्वयुद्धका नरसहांर दृश्य, अकाल, भुकमरी, हैजा, आर्थिक बोझ आदिलाई आफ्ना कविताहरूमा दर्शाउन लागे । विश्वयुद्धअघि ती अधिकांश युवाकविहरू राष्ट्रलाई पराकाष्टमा पु¥याउन युद्धलाई अपरिहार्य ठान्दथे । ती अँग्रेजी कविहरूमध्ये टी.एस. इलियटलाई बीसौं शताब्दीको महाकवि मानिन्छ अनि द वेष्ट लैण्डलाई त्यसयुगको सबैभन्दा महत्वपूर्ण कृति मानिन्छ । युद्धकालका अँग्रेजी कविताहरूको प्रभाव क्रमशः फ्रान्स अनि एशियाली देशहरूमा विस्तार हुन पुगे । भारतमा चन्द्रधर शर्मा गुलेरीद्वारा सन् उन्नाइसौं पन्ध्रमा हिन्दी भाषामा लिखित उसने कहाथालाई महायुद्धद्वारा प्रभावित भारतको पहिलो कथा मानिन्छ । त्यसपछि बङ्गला भाषामा रवीन्द्रनाथ टैगोरले आफ्ना लेखहरूमा महायुद्धलाई अनावश्यक मात्र नभनेर त्यसलाई “सिपाही अनि ब्यापारीहरू माझको द्वन्द्व” समेत भनिदिए। यसरी नै काजी नजुरल इस्लामको बङ्गला उपन्यास बोन्धोन हरामा पनि महायुद्धको प्रभाव देखिन्छ ।

   नेपाली साहित्यमा विश्वयुद्धको प्रभाव कुनै अस्वभाविक घट्नाहरू होइनन्, किनकि ती युद्धहरूमा असखङ्ख्य नेपाली सिपाहीहरू लडाइँ लड्न गएका थिए । एउटा आँकडानुसार नेपालबाट मात्रै पहिलो अनि दोस्रो विश्वयुद्धमा क्रमैले १६,५४४ अनि ८,००० गोर्खा सैनिक इंगलैण्डको पक्षबाट लडाइँ लड्न पुगेका  थिए । त्यसबाहेक भारतीयमूलका अनेकौं गोर्खा सैनिकहरू महायुद्धमा लड्न पुगे । ती युद्धमा हजारौं गोर्खा सैनिकहरूले आफ्नो प्राणको बलिदान दिएका छन् भने  धेरैले वीरताको इतिहास पनि रचेका छन् । पहिलो विश्वयुद्धमा सर्वोच्च सम्मानको रूपमा मानिने भिक्टोरिया क्रसद्वारा सम्मानित वीर सेनानीहरूमध्ये गोर्खा सिपाही कुलवीर थापा अनि कर्णवहादुर राणाको नाउँ पहिलो लहरमा आउँछ । यसैगरी दोस्रो विश्वयुद्धमा सुबेदार लालवहादुर थापा, जमादार गजेघले, सिपाही गञ्जु लामा, नायक अगमसिहं राई, सुबेदार नेत्रबहादुर थापा, सिपाही तुलवहादुर पुन आदिले भिक्टोरिया क्रस पाएका थिए । युद्धबाट फर्केपछि ती वीर गोर्खा सैनिकहरूले आफ्नो गाउँठाउँमा विश्वयुद्धका घट्नाहरू सुनाउन लागे । फलतः नेपाली साहित्यमा विश्वयुद्धसित सम्बन्धित धेरै सवाईहरू जन्मे । पहिलो विश्वयुद्ध र सानातिना अँग्रेजहरूका युद्धमा परेका ती गोर्खा सैनिकहरूका युद्धसम्बन्धी सवाईहरूमा नवलसिहं धर्तीको आनन्द लहरी; तुलाचन्द्र आलेको मनिपुरको सवाई; धनवीर भण्डारीको अब्बर पहाडको सवाई; रामप्रसाद भण्डारीको असमबर्मा लडाइँको सवाई आदि उल्लेखनीय छन् । ती सवाईहरू युद्धप्रतिको घृणा र क्षोभको भावमा होइन, तर सेनाहरूलाई प्रोत्साहन गर्ने भावमा नै रचिएका हुन्थे । “छोरी जन्मे ज्वाइँको घरलाई, छोरा जन्मे जर्मनको धावालाई” जस्ता सवाईहरूले त्यसबेला अँग्रेजको सेनामा जानै पर्ने एकप्रकारको वाद्यता नै भएको जनाउँछ।

    विश्वयुद्धबाट अप्रत्यक्षरूपमा प्रभावित उपन्यासहरूमा रुपनारायणसिहंको भ्रमर; शिवकुमार राईको डाकबङ्गला; अच्छा राई ‘रसिक’ को मङ्गलीलगन; सुवास घिसिङको लुङ्खुम क्याम्प; सुमिरण छेत्री ‘प्रियदर्शी’ को बलिवेदी; असीत राईको नयाँ क्षितिजको खोज आदिलाई लिन सकिन्छ भने अगमसिहं गिरीको युद्ध र योद्धा युद्धसम्बन्धी उच्चस्तरीय नेपाली खण्डकाव्य पाइन्छ । यद्यपि, प्रस्तुत कार्यपत्रको विषयवस्तु भारतीय नेपाली कथामा दुईवटा विश्वयुद्धको प्रभाव रहनगएकाले सम्बन्धित कथाविधालाई मात्र यहाँ विशेष रूपमा प्राथमिकता दिइएको छ ।

    विश्वयुद्धपछि यूरोपीय साहित्यमा युद्ध र युद्धको प्रभावको विषयमा धेरै कथाहरू लेखिन थाले । तर, युद्धकालमा भारतवर्षमा अँग्रेज शासन र नेपालमा राणा शासनको जाँतोमा पिसिएका नेपालीहरूबाट भने युद्धसम्बन्धी उल्लेखनीय ठोस साहित्य जन्मिन सकेन । इ. १९४४ मा प्रतिरक्षा विभाग, दिल्लीबाट साप्ताहिक गोर्खा समाचार रोमन नेपालीमा प्रकाशित हुन थालेपछि भने त्यसमा मूलतः युद्घका समाचार, सिपाहीहरूको त्याग, बलिदान र वीरत्वको बर्णन गरिन थालियो । इ. १९४७ मा भने उल्लिखित विभागबाट नेपाली भाषामा जवान, १ जूलाई, १९५० देखि फौजी अखबार र १९५४ देखि सैनिक समाचार साप्ताहिक समाचार भएर प्रकाशित हुन थाल्यो । एकातिर यी पत्रपत्रिकादिमा युद्घ र योद्घाहरू सम्बन्धी समाचार, लेख, रचनादि प्रकाशित हुन थाल्यो भने अर्कातिर युद्धमा परेका सिपाहीहरू तथा युद्धका बारेमा सुनेकाहरूबाट भने केही युद्धसम्बन्धी कथाहरू पनि लेखिन थालियो । ती कथाहरू मौलिक नभई आधारित भए तापनि त्यसमा प्रशस्त भावुकता हुने गर्थे । यस्ता कथाहरूमा बनारसका विश्वराज हरिहर शर्माद्वारा प्रकाशित बेनामी लेखकको रतनसिहं गुरुङको औटपोष्टको कथा  (इ. १९१४) मा विश्वयुद्धमा परेका एउटा सिपाहीको शारीरिक, मानसिक अनि उसको वहादुरी र मृत्युसम्बन्धी मार्मिक विषयवस्तु रहेको छ । कथा मौलिक नभएर अनुदित भए तापनि यसमा प्रशस्त भावुकता रहेको कुरा उनले स्वीकारेका छन् । यस कथालाई पहिलो युद्घमाथि आधारित भारतीय नेपाली कथा मान्नुपर्ने अवधारणा ईश्वर बरालले झ्यालबाटको भूमिकामा गरेका छन् भने राजेन्द्र भण्डारीले प्रकाशनकाल, भाषा, शैली, शिल्प, कथातत्व, सजगता, सैद्धान्तिकता  आदिका आधारमा उक्त कथालाई पहिलो भारतीय  कथा मान्न सक्छौं भनेका छन् ।  यद्यपि, नेपाली भाषाको पहिलो युद्ध कथा भने शारदा पत्रिका (वर्ष २, संख्या २) मा प्रकाशित हायमानदास राईको शूरवीर कथा हुनसक्ने अवधारणा मनप्रसाद सुब्बाको रहेको पाइन्छ ।  यस कथामा एक जापानी फौजलाई घरमा युद्धको समाचार पडिरहेको बेला टेलिफोनद्वारा झट्ट फौजमा फर्किने आदेश प्राप्त हुन्छ । तब ऊ आमाको आशीर्वाद र पत्नीको प्रेमलाई हृदयमा सजाएर युद्धतर्फ लाग्छ । पहिलो दिन रूसी फौजसित हारे तापनि दोस्रो दिन ऊ विशेष सोच बनाएर तोपको मोहोरीभित्र लुक्छ । शत्रुहरूले त्यो पड्काउँदा रुखहरूभरि रगतलागेको देखेर सबै भाग्छन् अनि जापान विजयी बन्छ । यसप्रकार कथाकार किरातले यस कथामा प्रथम विश्वयुद्धको एउटा घट्नालाई सङ्क्षिप्त रूपमा चित्रण गरेका छन् । कथामा एकातिर एक शूरवीर योद्धाले देखाएका राष्ट्रप्रेम, उत्सर्ग, त्याग, बलिदानजस्ता भावलाई प्रदर्शित गर्दछ भने अर्कातिर पुत्र गुमाएकी माता र पति गुमाएकी पत्नी पीढालाई पनि उजागर गर्दछ । यसैगरी गोर्खा संसारमा पहिलो कथा परिवर्तन (इ.१९२६) बाट आफ्नो कथायात्रा शुरू गरेका रूपनारायण सिहंको विध्वस्त जीवन र लैनसिहं बाङ्देलको जीवन चक्र कथामा पनि युद्घको वीभत्सता र दुष्परिणाम परिलक्षित भएको पाइन्छ ।

    युद्घको विषयवस्तुलाई आलम्बन बनाएर जसरी पश्चिमी साहित्य दौडिरहेको थियो, त्यसको तुलनामा नेपाली साहित्यमा युद्घसाहित्यले गति नपक्रे तापनि युद्घविरामको ७/८ सालपछिदेखि भने युद्घ र सैनिकहरूको विषयवस्तुमा आधारित केही कथाहरू लेखिन थालियो। एकातिर भुक्तभोगी सैनिकहरूबाट यस्ता कथाहरू लेखिए भने अर्कातिर नेपाली साहित्यकारहरूबाट युद्घ र युद्घले जन्माएका सङ्गति, विसङ्गति, क्षोभ, घृणा, त्रास, सैनिक जीवन, नेपाली जीवनमा यसको प्रभाव, वीर गोर्खाको गौरव–गाथा, आदि सम्बन्धमा कथाहरू लेखिए । इ. १९४५ को युगवाणी पत्रिकामा प्रकाशित शिवकुमार राईको फ्रण्टियर कथामा विश्वयुद्घमा कमाएका तकमाहरूले विश्वमा गोर्खाहरूको गौरव बढाएको भए तापनि त्यो युद्घ स्वदेश रक्षाको निम्ति नभएर अर्काकै निम्ति लडिएको थियो भन्ने आशय रहेको पाइन्छ । भारतको दार्जीलिङबाट जे-जति साहित्य सिर्जना भएर आइरहेछ, त्यति नै पूर्वाञ्चलबाट पनि साहित्य सिर्जना भइरहेछ । पूर्वाञ्चलबाट हरिप्रसाद गोर्खा राईज्यूका कथाहरू  विभिन्न पत्रपत्रिकादिमा प्रकाशित भएका छन् । उनको प्रकाशित (भारती १९५० सेप्टेम्बर र भारती १९५२)  कथाहरूमा युद्घ र सैनिक नै कथावस्तु भएको पाइन्छ । साहित्य सिर्जनाको क्रममा पुरुषहरूभन्दा नारीहरू पनि पछिपरेका छैनन् । प्रसिद्घ भारतीय नेपाली साहित्यकारहरूको शृङ्खलामा दार्जीलिङबाट  नारी साहित्यकार लक्खीदेवी सुन्दासले विविध विधामा कलम चलाएका छन् । इ. १९४६ तिर हाम्रो कथामा कथाहरू प्रकाशित गरेर कथायात्रालाई अघि बढाएका सुन्दासको हाम्रो कथा (अप्रिल, १९५१) पत्रिकाको वर्ष २, अङ्क ९ मा प्रकाशित नेपाली जीवनको परिच्छेद कथामा दोस्रो विश्वयुद्घमा लडेका अनि भोगेका नेपालीहरूको विडम्बना देखाइएको छ । दोस्रो विश्वयुद्घमा बर्मामा खटेका लालवहादुर विश्वयुद्घ थामिएपछि केही सिपाहीहरूको छँटाइ हुँदा त्यस छँटाइमा पर्छन् । लालवहादुरलाई जीवन धान्न गाह्रो पर्छ । जस्तै दुःख–कष्ट भए तापनि परिश्रम गरेर सानुतिनु काम गरिखान ऊ कलकत्तातिर लाग्छ । कलकत्तामा दरवानी काम गर्दागर्दै एक दिन घर मालिकले चोरीको दोष लगाएर जेलमा थुनिदिन्छ । ऊ निम्नवर्गीय नेपाली समाजको इमान्दार र परिश्रमी व्यक्ति भए तापनि मालिकले उसलाई चोरीको आरोप लगाई थुनुवा पारेको छ । यसरी अँग्रेजको समयमा सिपाहीमा भर्ती गरेर युद्घमा होमिन लगाएपछि केही कमजोरलाई छँटाइ गरी निकालिदिने व्यवस्थाबाट नेपालीहरू पनि प्रताडित हुनपरेको यथार्थ अनि नेपालीहरूमाथि भएको शोषण र अत्याचारलाई यस कथामा खुलाएको छ । उसरी नै  गनुसिहं गुरूङको  पेन्सन (भारती सेप्टेम्बर, १९५२) मा लाहुरेको पेन्सनमाथि आधारित कथा सुन्दर र कलापूर्ण छ । महानन्द पौड्यालको हवल्दारमा एउटा पल्टनेको आँधीहुरीपूर्ण दुःखान्त कथा छ ।

    नेपाली साहित्यमा तेस्रो आयाम र लीला लेखनका प्रवर्तक इन्द्रवहादुर राई इ. १९५७ पछि नेपाली कथा साहित्यमा पदार्पण गरेका हुन् । उनको यथार्थवादी कथा जयमाया आफूमात्र लिखापानी आइपुगीमा बर्माबाट लखेटिएका नेपालीका पीडा र सुस्केरालाई मूल कथ्यका रूपमा राखिएको छ । यस कथामा नेपालीहरूले भोग्न परेका गाँसबासका समस्या र घुमन्ते प्रवृत्तिलाई कारुणिक रुपमा प्रस्तुत गर्दै दयनीय स्थितिलाई केन्द्रीय तथ्यका रुपमा राखिएको छ ।

    विश्वयुद्घको प्रत्यक्ष–अप्रत्यक्षरुपमा परेको प्रभाव या युद्घसम्बन्धी  कथाहरू विभिन्न पत्रपत्रिकादिमा कतै मूल र कतै गौण विषयवस्तुमा देखापर्दै गर्दा इ. १९७० मा दीयो गोर्खा सैनिक अङ्क  प्रकाशित हुन्छ । यसमा विश्वयुद्घसम्बन्धी विभिन्न लेखकहरूका विविध विषयक लेख–रचनाहरू छापिएका छन् । यसको वर्ष १५, अङ्क ८ र ९ मा प्रकाशित कुमार घिसिङको गोर्खा सैनिकको जन्म र ऐतिहासिक युद्घ नामक ऐतिहासिक लेखमा गोर्खा सैनिकका ऐतिहासिक जन्मको सन्दर्भमा र पहिलो अनि दोस्रो विश्वयद्घुमा  गोर्खा सैनिकको अवस्थाको बारेमा विस्तृत जानकारी गराइएको छ । यसबाहेक भिक्टोरिया क्रस पाउने, इण्डियन अर्डर अफ मेरिटका दोस्रो श्रेणीका पदक पाउने, भारतीय उत्कृष्ट सेवा पदक पाउने अनि युरोपको समरभूमिमा परेका गोर्खा योद्घाहरूको सूची पनि दिइएको छ । लक्खीदेवी सुन्दासको युद्घमा जन्मेका नेपाली सवाई साहित्यमाविश्वयुद्घले जन्माएका नेपाली सवाई, उपन्यास, कथा आदि लेख–रचनाहरूको ऐतिहासिक सत्य र तथ्यलाई समेटिएको छ । चित्तरञ्जन नेपालीको नेपाल र बृटिश गोर्खा राइफल्समा गोर्खाहरू भर्ती गर्ने कार्यको प्रारम्भ, पद्घति, कारण अदिका बारेमा जानकारी गराइएको छ । असीत राईको गोर्खा सैनिकको अर्कोरवीन्सनक्रूसो कथामा एकजना गोर्खा सिपाही नाकन गुरुङले दोस्रो विश्वयुद्घमा लड्दालड्दै एक दिन जङ्गलमा लापत्ता भएपछि भोकभोकै बस्नु परेको, औले ज्वरोले सताएको र आठ वर्षसम्म एक्लो जङ्गली जीवन बिताउँदा भोग्नु परेको कारुणिक पीडाको बर्णन गरिएको छ । केदार गुरुङ (संकलक) को गोर्खा लाहुरेको छोटो विवरणमा गोर्खाहरू लाहुर जाने प्रसङ्गलाई खुल्याएको छ । एस. नमको खुनले मातिन्छ कथामा गोर्खा सिपाहीहरूले विश्वयुद्घमा लड्दा बन्दुकको गोली सिद्घिएपछि खुकुरीले दुश्मनहरूलाई फाँड्दा खुनले मातिएको वीरत्वको बर्णन गरिएको छ । स्मृतिपातामा कोपाएिको हरप शीर्षकअन्तर्गत एक्स आर्मी पी.एस. थापाको कुदरतकी खेल ः एक स्मरण, एक्स आर्मी सुवास घिसिङको कोही कोही बेला संझिन्छु त्यो दिनको सुवासलाई, एक्स आर्मी सुब्बा बी.बीको मेजर साहब, एक्स आर्मी पी.एस. थापाको टिकाबहादुर हिल, नौतमदास नामदूङको ट्रोनाटोमा नेपाली खुट्टा, धर्म बस्तेतको वर्माको पापी डाँडैमा लेखहरूमा विश्वयुद्घमा घटेका घट्नाहरूको सम्झना गरिएको छ । मदनकुमार ओझाको अन्तर्वाता संसारकोदोस्रो महायुद्घ, एक नेपाली सैनिकको स्वजातीत्वमा गोर्खा सैनिक पहले थापासित लिइएको अन्तर्वाता अन्तर्गत खाने सामग्री केही नहुँदा जङ्गलमा झारपात खाएर जीवन बिताएको  सैनिक जीवनको मार्मिक कथा छ । श्रीमती मायादेवी छेत्रीको आजाद गोर्खामा आजाद हिन्द फौजमा गोर्खाहरूको भूमिका बारेमा प्रकाश पारिएको छ । मनवहादुर मुखियाको लडाइँ छ धूम धाम धावामा, बस्नु त के छ हावामा लौ लौमा विश्वयुद्घको समयमा गोर्खा सैनिकहरू माझ पहलाएको नेपाली गीतहरूको झलक देखाइएको छ । एक्स आर्मी सी.बी. मुखियाको द बृगेड अफ गोर्खाजमा बृटिश गोर्खा रेजिमेन्टअन्तर्गत दोस्रो, छैटौं, सातौं र दशौं रेजिमेन्टको बारेमा जानकारी गराइएको छ । शान्तिको एक सैनिकको पत्र सखीलाईमा एकजना सैनिकको पत्नीपीडालाई उजागर गरिएको छ । शान्तिदेवी राईको लेफ्टिनेन्ट कर्नल धनसिंग थापामा परमवीर चक्र विजेता लेफ्टिनेन्ट कर्नल धनसिंग थापा र परमवीर चक्रका बारेमा बर्णन गरिएको छ । सी. बी. सुब्बाको (सङ्कलन) गंजु लामामा गंजु लामाको जीवनी र प्राप्त भिक्टोरिया क्रसका बारेमा लेखिएको छ । हरेन आलेको गंजु गोलीमा गंजु लामाले नाङथु खोंगको मैदानमा जापानीहरूको टेंक ध्वस्त पारिदिएपश्चात उनको शरीरमा थुप्रै गोली लागेको अनि चिकित्सकहरूले एउटा खुट्टुाको गोली सिवाय अरु सबै निकालिदिएपश्चात बीस वर्षपछि त्यो गोली आफै निस्केको र त्यो गोलीको नाम गंजु गोली राखेर देहरादूनको ११औं गोर्खा रेजिमेन्ट सेन्टर सङ्ग्रहालयमा सुरक्षित राखिएको वर्णन गरिएको छ । जयप्रकाश लामाको चिहानको पातामा दर्शिएको अतीतमा नागाल्याण्ड स्थित कोहीमा बार सिमेन्ट्रीमा विश्व वीर गोर्खा सैनिकका चिहानहरूका बारेमा अनि ती सैनिकसम्बन्धी हृदयविदारक उद्धरणहरू चिहानमा लेखिएका बारेमा प्रकाश पारिएको छ ।

    यसैगरी भारतीय नेपाली कथा विशेषाङ्क स्रष्टामा सङ्कलित कथाहरूमध्ये केही कथाहरूमा कहीँ कतै विश्वयुद्घको सन्दर्भ आएको भेटिन्छ । यस सङ्कलनमा सङ्कलित यस्ता केही कथाहरूमा ८६ को आन्दोलनपश्चात गोर्खाल्याण्डको निम्ति लडेका गोर्खाहरूको कथाव्यथालाई पत्रात्मक रुपमा प्रस्तुत गर्दै तिलक राईले विश्व महासमरमा विजयी राष्ट्रले विजित देशका स्त्रीहरूलाई गरेका पाशविक अत्याचार र बलत्कारको वीभत्स दृश्यहरू देखी सूर्य लजाएका थिए । चन्द्रमा रोएका थिए । तर दार्जीलिङको युद्घ त महासमर होइन । त्यसलाई युद्घ पनि नभनौं, यो त घरभित्रको झगडा हो भन्ने प्रसङ्गमा महासमरको कुरा गरिएको छ । केदार गुरुङको आफ्नो कथा हिउँको पग्लँदो ढिका जस्तै एउटा कथा…मा दार्जीलिङे जनजीवनको चर्चा गर्दै हाम्रा पूर्खाहरूले अँग्रेजको पक्षमा विश्वयुद्घ लडेर बर्मादेखि पलायन भई जङ्गल फाँडी, उद्यम गरी रहर लाग्दो देश र राज्यहरू बनाए, तर आज हामीमा एकता नभएकै कारण हामी शोषित भइरहेछौं । अनेकताकै कारण नेताहरूको लडाइँमा परेर मिचिनु परिरहेछ भन्ने तीतो सत्यसँगै विश्वयुद्घदेखि देश रक्षासम्म बलिदान दिएका गोर्खा जातिको उचित मूल्याङ्कन हुन नसकेको बोध गरिएको छ । जयवीर सुब्बाको माया कथामा गजे गुरुङको दल र अँग्रेजहरू माझ लडाइँ हुँदा अँग्रेज दुश्मनहरू सबै भागेर जङ्गल पसेपछि रातभरि एउटा सहासी अँग्रेज र गजे लडेरै रात बिताएपश्चात भोलिपल्ट ती दुवैले मित लगाएको कुरा कलात्मक ढङ्गमा प्रस्तुत गरिएको छ । जीवन थीङको सीमान्तहरूमा भियतनामको युद्घमा चारैतिर बङ्करहरू अनि बम र बारुदले आकाशै अँध्यारो पारेको वीभत्स दृश्यको बर्णन गरिएको छ । यस्तै प्रकारले जीवन नामदूगंको सम्पादकत्वमा प्रकाशित स्वतन्त्रोत्तरकालका नेपाली कथाहरू  मा प्रकाशित कथाहरूमध्ये चन्द्र शर्माको बाँझो धरतीको मायामा भारत–चीन युद्घमा देशको सिमानामा अकस्मात विश्वासघाती हमला भएको हुँदा देशमा परेको सङ्कटलाई देखाइएको छ । धनहाङ सुब्बाको सलामत जलानमा मलायाको आतङ्कवादी कम्युनिष्टहरूको विरुद्धमा अँग्रेज सरकारले विभिन्न जातका सेना ब्रिटिश, गोर्खा, अफ्रिका र स्थानीय मले–चिनियाँ समेत एकत्रित गरेको वर्णन गरिएको छ । सिद्धार्थ राईको युद्धस्थलमा बम र मिसाइलको प्रहारले शहरै ध्वस्त भएको समय शत्रुपक्षकी एउटी नर्स घायल अवस्थामा आफू पेटकै निम्ति सेनाको नर्समा भर्ना भएको र वास्तवमा कोही पनि दुश्मन नभएर पेटकै निम्ति कर्तब्य पालन गर्ने गरेको कुरा उल्लेख गरिएको छ ।

    प्रस्तुत गोष्ठीपत्र भारतीय नेपाली कथा साहित्यमा दुईवटा विश्वयुद्धको प्रभाव विषयमा मेरा नजरमा परेका केही कथाकारहरूको रचनादिलाई अति नै आशिंक रुपमा  राखेको छु । हुनत विश्वका दुईवटा महासमरबाहेक पनि विश्वमा कैयौं ठूलासाना युद्धहरू भए, भइरहेछन् । परिणाम जे-जस्तो रहेता पनि यसले भौतिक प्रभावको साथै साहित्यमा पनि विभिन्न प्रकारको प्रभाव पारिनै राखेको छ । विश्वयुद्धको सन्दर्भमा विश्वसाहित्यमा धेरै साहित्यहरू जन्मे । नेपालीमा पनि विविध विधामा युद्धसम्बन्धी लेखिए, लेखिरहेछ । यस दिशामा स्थापित साथै नवोदित साहित्यकारहरूबाट कलम चलिरहेछ । नयाँ सोच–विचार, नयाँ शिल्पशैली र सिद्धान्तको आधारमा युद्ध साहित्यले छुट्टै प्रारूप तयार पार्दै लगिरहेछ । (क्षेत्री दार्जीलिङका लेखक हुन्)

सम्बन्धित समाचार