धर्म/संस्कृतिबागमतीसमाचार

संस्कार जोगाउँदै जिरेल समुदाय

गंगा रिमाल

क्षेत्रपा, दाेलखा/एउटा सानो कोठा, कोठा को एक कुना भरी त्रिशुल, घन्टी, डमरु, रुद्राक्षको माला, खादा, भगवानका तस्वीर र सगुनको रुपमा राखिएको केही रक्सीका बोतल, फलफुल, फुलपाती र कोठाभरी खचाखच मानिसहरु । यो दृश्य हो जिरेल समुदायले प्रत्येक बर्ष जनैपूर्णिमाको अवसरमा गरिने छ्याङबो छोसेको अर्थात देवता लाई निम्ता गरेको, पूजाआजा गरेको र मान्दै आएको देवी देवतालाई खुसी बनाउन गरिएको पूजा ।
जिरेल समुदायका मुल गुरु भक्त बहादुर जिरेलले संस्कार अनुसारको सेतो जामा, पगरी, घन्टी र रुद्राक्षको माला लगाई तयार भएर ढ्याङग्रो बजाई देवता बोलाए । झ्याम्मटा, ढ्याङग्रो बजाएर उनलाई स्थानिय अरुले पनि साथ दिए । शुरुमा देवता बोलाई सकेपछी संस्कार अनुसार बोजु पूजा लगायत पूजा को कार्यक्रम सकियो । त्यहाँ आउने सबैले गच्छे अनुसारको भेटी र फुल चढाए । यस बेला त्यहाँ उपस्थित अरु महिला, पुरुष लाई पनि देवता आएको भनेर केही बेर काँपेर बोले ।
प्रत्येक बर्ष जनैपूर्णिमाको अवसरमा मूल धामी÷गुरु को घर बाट शुरु गरेर जिरेलहरुको घरमा पञ्चमी तिथी सम्म देवता बोलाउने र यहि मौकामा ईच्छुकहरुले जोखाना पनि हेर्न लगाउने स्थानिय भिममाया जिरेलले बताईन । उनले भनिन् “यस अवसरमा पितृहरुको आत्मा लाई बोलाएर पितृ संग दोहोरा कुराकानी हुने र यसबेलामा पितृहरुले सन्तानहरुलाई कुनै सन्देश दिने गरेको, आफु सन्तुष्ट रहे नरहेको सबै बताउने गर्छन”


जिरेलहरुले धान्य पूर्णिमामा पनि पूजाआजा गरेर देवता बोलाउने र पुकारा माग्ने गर्छन । क्षत्रपाका जिरेलहरुले जिल्लामा हुने विभिन्न महोत्सव तथा साँस्कृतिक कार्यक्रमहरुमा झाँकी सहित सहभागी हुने गरेको भक्त बहादुर जिरेलले बताए । परम्परा देखी मान्दै आएको संस्कृति लाई जोगाई राख्नको लागि यस्ता कार्यक्रमहरुमा सहभागी हुने गरेको उनले बताए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बैतेश्वर गाउँपालिकामा जिरेलहरुको संख्या चार सय १४ रहेको छ भने दोलखा जिल्लामा जिरेलहरुको संख्या चार हजार चार सय ९४ (दुई दशमलब छ प्रतिशत) रहेको छ । दोलखाको क्षेत्रपा, जगँु र जिरीमा जिरेलहरुको बसोबास छ ।

सम्बन्धित समाचार