दोलखा/आगामी माघ १९ देखी २१ गतेसम्म आयोजना हुने नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनौटको काम सुरु भएको छ । पार्टीले प्रतिनिधि छनौट निर्वाचन कार्यतालिका सार्वजनिक गरी अधिवेशनको लागि प्रतिनिधि छनौटको काम सुरु गरेको नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठले बताउनु भयो ।
पार्टीले सार्वजनिक गरेको प्रतिनिधि छनौट कार्यतालिका अनुसार माघ ९ गते मतदाताहरुको नामावली प्रकाशन, मतादाता नामावली उपर दावी विरोध र अन्तिम नामावली प्रकाशन तथा उम्मेदवरी दर्ता फारम वितरण कार्य सम्पन्न भएको जनाईएको छ ।
कार्यतालिका अनुसार माघ १२ गते २ बजे देखि ४ बजेसम्म प्रतिनिधिको लागि उम्मेदवारी दर्ता, १२ गते दिउँसो ५ बजे उम्मेदवरहरुको नामावली प्रकाशन, माघ १३ गते विहान ९ बजेसम्म उम्मेदवार उपर दावी विरोध, विहान १० बजेसम्म दावी विरोध उपर छानविन, ११ बजेसम्म उम्मेदवारी फिर्ता, ११ बजे उम्मेदवारहरुको अन्तिम नामालवी प्रकाशन र ११ बजे देखि ४ बजेसम्म मतदान गर्ने र सोहि दिन नतिजा घोषणा सहित प्रतिनिधी छनोट गरिने संयोजक श्रेष्ठले बताउनु भयो ।
अधिवेशनको लागि प्रतिनिधि छनोट गर्न पार्टीले प्रत्येक वडा र पालिकाहरुमा निर्वाचन अधिकृत तोकेर पठाएको एमाले दोलखाको सहसंयोजक राजेन्द्र मानन्धरले बताउनु भयो ।
नेकपा एमालेले पार्टीको विधान अनुसार १५ जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि आउने व्यवस्था गरेको छ । त्यसरी आउने प्रतिनिधिमा महिला र युवा प्रतिनिधित्व अनिर्वाय गरिएको पार्टीले जनाएको छ । अधिवेशनको लागि एक सय ८० जना अधिवेशन आयोजक समितिका सदस्यहरु समेत आफ्नो वडाबाटै प्रतिनिधिको रुपमा चुनिएर आउनुपर्ने एमाले दोलखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्