मुख्य समाचारयो पनिसमाचार

थप तीन केजी सुन बरामद, पक्राउ पर्ने छ जना पुगे

दोलखा/चीनको तिब्बतसंग सिमाना जोडिएको दोलखाको फलाक नाका हुदै नेपाल भित्रिएको थप तीन केजी अवैध सुन भेटिएको छ । शुक्रवार दोलखाको विगु – ३ जामुने स्थित सिता तमाङको घरमा डेरा गरी बस्ने केशर तमाङको कोठामा खानतलासि गर्दा थप तीन केजी सुन भेटिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
बुधवार राति विशेष सुराकीको आधारमा जामुने स्थित सिता तमाङको घरमा डेरा गरी बस्ने केशर तमाङको कोठामा खानतलासि गर्दा चार केजी सुन भेटिएको थियो । सुन बरामद भएपछि विगु – १ लामाबगरका १९ बर्षको पेम्बा तमाङ, २८ बर्षको केशर तमाङ र २० बर्षको माधव मगरलाई पक्राउ गरिएको थियो । त्यसैगरी विहिवार चरिकोट स्थित शुभकामना होटलबाट विगु गाँउपालिका वडा नम्बर १ कै थप दुई जना ५५ बर्षको नुर्वुछिरीङ शेर्पा र ३० बर्षको सुनमाला तमाङलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका केशर तमाङको बयानको आधारमा उनको अर्को कोठामा खानतलासी गर्दा थप तीन केजी सुन बरामद भएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो । बुधवार केशरको एउटामात्र कोठा होला भनेर खानतलासी गरेका थियौ, त्यो कोठाबाट चार केजी सुन बरामद भएको थियो, प्रहरी नायव उपरीक्षक खड्काले भन्नु भयो– तर उनको अर्काे कोठा समेत रहेको बयानबाट खुलेपछि त्यसमा खानतलासी गर्दा थप तीन केजी सुन बरामद भएको हो ।
सुन तस्करीको आशंकामै शुक्रवार विगु – १ लामाबगरका राज तमाङलाई काठमाडौँबाट पक्राउ गरी दोलखा ल्याईएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
नियन्त्रणमा लिईएको पाँच जनालाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा अदालतबाट म्यादलिई थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेकाहरुलाई चिनियाँ नागरिकलेनै सुन पठाएको हुनसक्ने खड्काको भनाई छ । यसबारे थप अनुसन्धान पछि भन्न सकिने उहाँले बताउनु भयो । उक्त सुन लामाबगरको फलाक नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरीले जनाएको छ ।
चीनसंगको सिमा क्षेत्रमा सुरक्षा सर्तकता बढाईएको र थप सुन आएको हुनसक्ने आशंकामा खोजि भै रहेको प्रहरीको भनाई छ ।
चीनसंगको नाका खुलेको छैन
गत आईतवार चीनसंग सिमा जोडिएको दोलखाको दुईवटा नाका खुलेको र त्यस लगतै सुन तस्करी भएको खबर मिडियामा आएको तर त्यसमा सत्यता नरहेको दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताउनु भयो ।
चीन सरकारले नेपालको १४ वटा नाका खोल्ने नीतिगत निर्णय गरेको र त्यसमा दोलखाको फलाक हुदै जाने रोङसिया र क्वादम नाका समेत रहेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनु भयो । नीतिगत निर्णय भएपनि त्यसको प्रकृयाको बारेमा छलफल भै रहेकोले नाका खुलिनसकेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनु भयो ।
लामाबगर क्षेत्रबाट सुन तस्करी भएकोले स्थानीय प्रशासन यसमा सर्तक रहेको र फलाक तथा लप्ची नाका तत्काल खोल्ने बारे चीन सरकारसंग छलफल भै रहेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनु भयो ।

सम्बन्धित समाचार