दोलखा/नेकपा एमाले दोलाखको १३ औ जिल्ला कमिटी बैठकले करिब दुई बर्ष अघि निर्वाचित कमिटी विघटन गर्दै आयोजक कमिटी बनाएको छ । १० औ जिल्ला अधिवेशनको लागि नरबहादुर श्रेष्ठ संयोजक र राजेन्द्र मानन्धर सह संयोजक रहेको एक सय ८३ सदसिय आयोजक कमिटी बनाईएको एमाले दोलखाले जनाएको छ ।
पार्टीको १० औ जिल्ला अधिवेशन तयारीको लागि मौजुदा जिल्ला कमिटीमा केही नयाँ सदस्यहरु समेत थप गरी आयोजक समिटी बनाईएको विघटीन कमिटीका अध्यक्ष एवं आयोजक कमिटीका संयोजक नरबहादुर श्रेष्ठले बताउनु भयो । एमाले दोलखाले पत्रकार सम्मेलन मार्फत आयोजक कमिटीको बारेमा जानकारी गराएको थियो ।
बैठकले आगामी माघ महिना भित्र पार्टीको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा १० औ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको आयोजक कमिटीका सह संयोजक राजेन्द्र मानन्धरले जानकारी दिनु भयो । त्यसैगरी बैठकले आगामी अशोज ८ र ९ गते काठमाडौँमा सम्पन्न हुने पार्टीको बागमति प्रदेश कमिटी अधिवेशनको लागि प्रतिनिधि छनौट गर्न निर्वाचन तालिका बनाएको सह संयोजक मानन्धरले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार भदौ २५ गते १० बजे प्रत्येक पालिका कमिटी कार्यालयमा मतदाता नामावली सार्वजनिक, भदौ २५ गते ११ बजेदेखि १ बजेसम्म मतदाता नामावली माथि दावि विरोध, भदौ २५ गते १ बजे मतदाताको अन्तिम नामावली प्रकाशन, भदौ २५ गते २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, भदौ २५ गते ६ बजे उम्मेदवारको नामावली प्रकाशन, भदौ २६ गते ११ बजे उम्मेदवार माथि दावि विरोध, भदौ २६ गते ४ बजे उम्मेदवारको नाम फिर्ता, भदौ २६ गते ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र भदौ २७ गते ११ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने छ ।
पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य एवं दोलखा इन्चार्ज कमल चौलागाईले अहिले मुलुक आर्थिक, राजनीतिक हरेक हिसाबले अत्यन्त सङ्कटमा परेको र त्यसको अन्त्यको लागि नेकपा एमालेको बहुमतको सरकार अनिर्वाय भएको उल्लेख गर्नुहुदै त्यसैको लागि एमालेले मिसन ८४ सुरु गरेको बताउनु भयो । मिसन ८४ अभियानकै क्रममा पार्टीले हरेक कमिटीको अधिवेशन गरी पार्टीलाई चुस्त र दुरुस्त बनाउन लागेको पोलिटब्युरो सदस्य चौलागाईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्