दोलखा/आर्थिक मन्दिले थलिएको दोलखाका व्यवसायीहरुलाई बैङ्क तथा वित्तिय संस्थाहरुले मानसिक त्रास देखाउदै आतङ्कीत बनाएको आरोप सहित दोलखा उद्योग व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष शिवजी राउतको हस्ताक्षर सहितको ज्ञापनपत्र मार्फत बैङ्क तथा वित्तिय संस्थाहरुले ब्याजदरलाई एक अङ्कमा कायम गर्नुपर्ने, ऋण स्वीकृत गर्ने बेला निर्धारण भएको ब्याजदर केही समय पछिनै बृद्धि गर्ने बैङ्क तथा वित्तिय संस्थाको नीति तत्काल परिर्वतन गर्नुपर्ने, व्यवसायीक सङ्कटको अवस्थामा सबैखाले कर्जामा पुर्नकर्जाको सुविधा दिनुपर्ने, नियमित किस्ता बुझाउन नसकेका ऋणीहरुलाई आर्थिक दवाव तथा मानसिक यातना दिदै पत्रपत्रिकामा लिलामिको सुचना निकाल्ने र बैङ्क तथा वित्तिय संस्थाको नाममा घर– जग्गा पास गर्ने कुरा तत्काल बन्द गरी किस्ता बुझाउने समय व्यवसायीक सुधार नभएसम्मको लागि उपलब्ध गराउनु पर्ने, बैङ्क तथा वित्तिय संस्थाहरुले व्यक्तिको घर– जग्गाको मूल्याङ्कण आफ्नो अनुकुल मनलागि गरी सामन्ति प्रवृत्ति देखाउदै कृतिम सङ्कट र आतङ्क फैलाएकोले त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेका छन् ।
त्यसैगरी बचत र किस्ता नियमित नहुदा हर्जाना लिने बैङ्क तथा वित्तिय संस्थाहरुको नीति परिर्वतन गरी किस्ता र तोकिएको ब्याजदरको मात्र हिसाब राख्नु पर्ने, बिभिन्न नाममा अधिकतम बैङ्क तथा सहकारीहरुले नै अप्रत्यक्ष रुपमा सञ्चालन गरीरहेको लघुवित्तहरुले ऋण असुलिको नाममा गाँउ– गाँउमा पुगेर किसान, साना व्यवसायीहरुको पशु चौपाया र गर– गहना समेत लिने गरेको तथ्य बाहिरीएकोले त्यस्तो अव्यवहारीक र अमानविय कार्य तत्काल बन्द गर्नुपर्ने तथा वित्तिय कारोवारको लागि बैङ्क तथा सहकारीहरुनै प्रयाप्त रहेकोले अनुदार तथा अव्यवहारीक चरित्रको लघुवित्तहरु तत्काल खारेज गर्नुपर्ने दोलखा उद्योग व्यवसायी संघको माग रहेको छ ।
उल्लेखित मागहरु यथाशिघ्र सम्बोधन गरी व्यवसाय प्रवद्धनमा सहयोगको आग्रह गर्दै त्यसलाई अनदेखागरी व्यवसाय पलायन र व्यवसायीहरु मानसिक रुपमा तनावग्रस्त बन्नु पर्ने अवस्था बनाउदै आर्थिक तथा मानसिक आतङ्क कायम राखे कडा संघर्ष गर्ने जानकारी साथ त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरोकारवाला स्वयमले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
संघले सहयोगात्मक साथको लागि तीनै तहको सरकार, राष्ट्रबैङ्क, राजनीतिक दलहरु, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार, किसान, मजदुर एवं आम व्यवसायीहरुमा अपिल समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले व्यवसायीहरुको मागको सम्बन्धमा बैङ्क तथा वित्तिय संस्थाहरुसंग छलफल गरी समस्या समाधानको पहल गर्ने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्